नेपाली कांंग्रेसको विहीबार बसेको पदाधिकारी बैठकले वर्तमान राजनीतिक विषयमा कुनै धारणा तय गर्न सकेन । विहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले निकासका विभिन्न पक्षमा छलफल गरेपनि साझा धारणा बनाउन नसकेको हो ।
कांग्रेसभित्र पुनर्स्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक फरक मत रहँदै आएको छ । सभापति, महामन्त्री लगायतका पदाधिकारीहरु कांग्रेस पक्ष निर्णायक हुने गरि परिवर्तित अवस्थाको उपयोग गर्ने पक्षमा छन् भने रामचन्द्र पौडेल पक्ष सत्तारुढ नेकपाको ओली पक्ष बाहेकको शक्तिसँग मिलेर राजनैतिक निकास दिनुपर्ने भन्नेमा देखिएको छ ।
पदाधिकारी बैठकको अनिर्णयसँग कांग्रेसले राजनीतिक निकासका लागि सांसदहरुको धारणा लिने भएको छ । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको बैठकमा सांसदहरुको विचार लिने र प्रतिनिधिसभाको बैठक बस्ने दिनसम्म विकसित हुने राजनैतिक घटनाक्रमलाई विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने बताए ।
उनले भने, “बैठकमा साझा धारणा बनाउने र ठिक समय आएपछि निर्णयमा पुग्ने सहमति भएको छ । समयमा ठिक निर्णय गर्छ इन्जुरी टाइममा गोल गरेको भन्दा हुन्छ । अहिले हामी एक खालको मनोविज्ञानमा पुगेका छौं । तर ठोस निर्णय संसदीय दलको बैठकमा सांसदहरुको धारणाका साथ गर्छौं । अविश्वासको प्रस्तावको प्रस्तावकको रुपमा जान्छौं कि अगुवाई नै गरेर जान्छौं भन्ने कुरा।”
कांग्रेसले सांसदहरुको धारणा लिन शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार नै नेकपा प्रचण्ड-माधव समूहले नेपाली कांग्रेसका पदाधिकारीसँग छलफल गर्ने बताएको छ ।































प्रतिक्रिया