महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।
महाशाखा र राष्ट्रिय युवा परिषद्को समन्वयमा विभिन्न कलेजका दुईसय जना विद्यार्थीहरुलाई ट्राफिक महाशाखामा शिक्षण गरी काठमाडौँका विभिन्न चोक, जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरिनेछ । महाशाखाले स्वयंसेवकलाई १० दिन सम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ ।
काठमाडौँ उपत्यकाको सवारी चाप हुने तथा बढी पैदलयात्रु भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रवाह गर्ने एसएसपी भट्टराईले जानकारी दिए ।
एक मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस हुने भन्दै ट्राफिक स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गरेका छन् । जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्दा भएका दुर्घटनामा परी मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उनीहरुले पैदलयात्रुको बढि भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरि सहजता ल्याउने बताए ।





























प्रतिक्रिया