संसद् पुनःस्थापना भएलगत्तै प्रधानमन्त्री ओलीलाई लछारपछार पार्दै गलहत्याइने हुँकार गर्दै आइरहेको नेदा समूह (नेपाल–दाहाल समूह) ले छलकपटका सबै भागीरथ प्रयास र लज्जास्पद शरणागति एवं समर्पणका अनेकौं दाउ चाले पनि वास्तविकतामा एक पाइला पनि सार्न सकेन।
संसद् ब्यूँतिएपछिको बहुप्रतीक्षित दिन फागुन २३ गते आइतबारसम्म केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन सकेको छैन। नेदा समूहका यससम्बन्धी सबै योजना तुहिएको त नभनौं, तर यति प्रमाणित नै हो, ती सबै योजनाका ठेली बूढानीलकण्ठको एउटा अट्टालिकाको कुनै खोपीमा थन्किएका अवश्य नै छन्।
अट्टालिकापति विस्फरित नैन एवं विस्मित भावले सम्झिन प्रयासरत रहे पनि केही ठम्याउन सकिरहेका छैनन, ‘यो मेरो कुन जन्मको पुण्यफल हो।’ उनलाई स्पष्ट विदित छ, यस जन्ममा त उनीबाट यस्तो कुनै सुकृत्य भएको छैन, जसको फल खसेर उनको राजनीतिक अभिलाषा मात्रै होइन, नितान्त व्यक्तिगत चोट, घाउ र घायल मनको सफल ‘रेमेडी’ हुँदै यस्तो सन्ताप पुर्याउने सबैजना वैरीलाई धूलिसात गराउँदै अपमानको प्रतिशोध लिने ‘गोल्डेन’ मात्रै होइन, ‘प्लुटोनियम अपर्चुनिटी’ प्राप्त भएको हो।
उनले सलाह लिने अघोरी बाबा र तन्त्रसम्राट चन्द्रा स्वामीज्यूको भौतिक उपस्थिति नरहेका कारण यस रहस्यको ‘प्रोग्रामिङ डिकोड’ पनि त हुन सकिरहेको छैन। प्रोटोकलको अहम्ले उनलाई अरु कुनै रहस्यदर्शीको कुरा मान्ने त परै जाओस्, सुन्ने / बुझ्ने कोटीकै विनम्रताहीन अहंकारी बनाएको छ। उनको हालत ड्राइभिङ नआउने व्यक्तिको सरह भएको छ, जसलाई भाग्यले उपलब्ध गराइदिएको नवीनतम गाडीको सञ्चालन विधि, प्रविधि र प्रक्रियाबारे पनि केही थाहा छैन।
तर, हात आइपरेको ‘प्लुटोनियम अपर्चुनिटी’ को उपयोग भने उनले अहिलेसम्म कुशल राजनीतिज्ञका भाँती गरिआएका छन्।
नेपाली कांग्रेसले अहिलेसम्म केपी ओलीका विरुद्ध आउनसक्ने अविश्वास प्रस्तावबारे ‘उचित समयमा उचित नीति अख्तियार गर्ने,’ सन्देश प्रवाहित गर्दै आइरहेको छ। फागुन २३ गते बिहान ८ बजेसम्म त्यो उचित समय आइसकेको छैन।
देउवाजी मनमनै सोची बसेका छन्, त्यो उचित समय त मैले चोर औंलाले प्रचण्डलाई आफ्नो पछि आउने इशारा गर्नासाथ जुनबेला पनि ल्याउन सकिन्छ। केही दिन प्रचण्डको म्याउँम्याउँ सुनेर दिल बहलाउने उपक्रम मञ्चित भइरहोस्। उनले आफ्नो विशिष्ट शैलीमा मनमनै भनिरहेका होलान्, ‘यो यो–यो त्यही होइन… मेरो अधीनको सरकारमा बसेर मेरो शत्रुसँग मिल्न गएको थियो ! यसको छोरीका लागि म अन्तर्राष्ट्रिय रूपमै बदनाम भए, अनि यो मलाई छाडेर भागेको थियो। आओस् न केही दिन मेरा ढोकामा स्तुति गर्न, त्यसलाई आफूसामु विनीत मुद्रामा उभिएको हेर्दा ‘अर्गाज्म’कै आनन्द आउँछ। अहिले के हतार ?
परिस्थितिले मूर्ख कालिदासलाई एक झट्कामै विद्वान कालीदास बनाइदिन्छ। यस प्रकरणलाई फगत कथा मान्नेहरुले देउवाजीको बौद्धिक विकासले कालिदास प्रकरणको सत्यता बुझ्नुपर्ने हो। विगतमा सत्ताका लागि जस्तोसुकै अनैतिक गतिविधि गर्न लिप्त रहनुहुने देउवाजीले सुनैसुनको परिधानले सुसज्जित र आफ्ना परमविरोधीहरुले सुनकै डोलीमा बोकी आफ्नो आँगनमा ल्याइपुर्याइ दिएकी सत्तासुन्दरीसँग हेलोसम्म भनेका छैनन्। देउवाजीको राजनीतिक परिपक्वताको योभन्दा ठूलो दृष्टान्त अरु के हुन सक्छ ?
उनका सबै राजनीतिक विरोधी डोले बनेका छन, यस्तो भाग्यफल ! निश्चय पनि यो यस जुनीको कर्मको परिणाम होइन।
नेकपाका दुवै पक्षले गरेको नाटकमा दुवै पक्षसँग सांसद सदस्य संख्या उस्ताउस्तै देखिन आएको छ। संसद सदस्यको ४० प्रतिशतले दल विभाजित हुने सुविधाले नेकपा भोलिपल्ट नै दुइटा हाँगामा पल्ल्वित हुन्छ।
अब के गर्छन् त देउवाले ?
यस विषयमा धेरै माथापच्ची गर्न आवश्यक नै छैन। देउवाजी उपलब्ध परिस्थितिलाई दुई मोर्चामा ‘क्यास’ गराउँछन् र दुवै मोर्चामा अखण्ड विजयी भएर निस्किन्छन्।
प्रथमतः देउवाले प्रचण्ड नेपाल समूहले ल्याउने अविश्वास प्रस्तावको समर्थन गर्दैनन्। तर, यसमा पनि दुइटा सम्भावना निहित छन । उनले अविश्वास प्रस्ताव दर्ता गर्ने सहमति जनाई प्रचण्डलाई घर न घाटको बनाउने सम्भावना छ। प्रचण्डले प्रस्ताव दर्ता गरेपछि देउवाजीले कोल्टे फेर्दै त्यस प्रस्तावलाई पारित हुन नदिने प्रबल सम्भावना देखिन्छ। यसले नेदा समूहको नूर क्षतविक्षत हुन्छ। व्यक्तिगत रूपमा प्रचण्डको यस्तो निरीहतामा देउवालाई प्राप्त हुने आनन्दको अन्य कसैले कल्पनासम्म गर्न सक्दैन। अविश्वास प्रस्ताव पास नभए केपी ओलीलाई महासञ्जीवनी प्राप्त हुन्छ। प्रस्ताव दर्ता नहुँदा यो कुनै पनि समयमा दर्ता हुने सम्भावना रहन्छ तर, एकपटक दर्ता भएपछि एक वर्षलाई केपी ढुक्क।
अथवा देउवाजीले प्रस्तावको समर्थन गरेर केपीको हैसियत कार्यवाहकमा झारी दिन्छन, र यसपछि उनी गएर बूढानीलकण्ठमा बाँसुरी बजाई बस्छन् अर्थात् अर्को सरकार बनाउने कुनै चासो लिन्नन्। र, नेपाली कांग्रेसको सहभागिताबिना कुनै पनि किसिमको सरकार बन्न सक्दैन। एक–दुई महिनामै कार्यवाहक प्रधानमन्त्रीले नयाँ सरकार बन्न नसक्ने परिस्थिति देखाउँदै पुनः संसद भंग गरेर नयाँ निर्वाचनको बाटो खोल्छन्। नयाँ निर्वाचनको प्रत्यक्ष लाभ नेपाली कांग्रेसबाहेक अरु कसलाई नै हुन सक्छ ? तर, देउवाजीसँग रहेको यस ‘रोड म्याप’मा पनि केही ट्विस्ट अझै छन्।
केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव त पारित हुन सक्छ। ओली कार्यवाहकको हैसियतमा झर्न सक्छन् । तर, यसपछिको कुनै पनि एक ‘स्टेप’ चाल्न लाई नेकपाको कानूनसम्मत, विधिसम्मत स्पष्ट विभाजन हुनु अनिवार्य हुन्छ। देउवालगायत देश विदेशका सबै शक्तिले (चीनबाहेक ) खोजेको पनि यही नै हो। यो विभाजन नभएसम्म कुनै पनि किसिमको अर्को सरकार बन्न सक्दैन। स्मरण रहोस् केपी नै कार्यवाहकका रूपमा सत्तासीन भई राख्छन। नेकपाको दुवै पक्षलाई यस्तो सुविधा जुटाइदिन देउवाजीले अविश्वास प्रस्तावभन्दा पहिले दल फुट्ने सम्बन्धमा नयाँ प्रस्ताव ल्याउन र त्यसलाई संसदबाट पारित गराई दिन केपीलाई बहुमूल्य सहयोग गर्न सक्छन् । नेकपाका दुवै पक्षले गरेको नाटकमा दुवै पक्षसँग सांसद सदस्य संख्या उस्ताउस्तै देखिन आएको छ। संसद सदस्यको ४० प्रतिशतले दल विभाजित हुने सुविधाले नेकपा भोलिपल्ट नै दुइटा हाँगामा पल्ल्वित हुन्छ।
नेकपा विभाजित हुनसाथ देउवाजीसँग पुनः दुइटा विकल्प हुन्छन् ओली समूहसँग मिलेर सरकार बनाउने कि नेदा समूहसँग मिलेर। प्रकृतिले देउवाजीलाई यस कार्य निमित्त दुईवटा प्रेरणा दिइरहेको छ। ओलीसँग सरकार बनाउँदा आफूपक्षीय कांग्रेसको सरकार बनाउने र नेदा समूहसँग बनाउँदा पार्टीभित्रका आफ्ना असन्तुष्ट पक्षलाई सरकारमा पठाउने। दुबै हालतमा देउवाले सरकारको नेतृत्व लिदैनन; सरकारमा सम्मिलित मात्रै हुन्छन्। नेदा समूहसँग सरकार बनाउँदा देउवाजीलाई शंशाक कोइरालाको भ्रुणहत्या गर्ने अवसर प्राप्त हुन्छ। यो निश्चित छ कांग्रेसले जुनसुकै पक्षसँग मिलेर सरकार बनाउँदा पनि ३ महीनामै समर्थन फिर्ता लिई देशमा नयाँ निर्वाचनको वातावरण बनाई दिन्छ। आखिर उसलाई भाइ फुटेर खाली हुन आएको ‘स्पेस’को लाभ जे उठाउनु छ।
शशांक कोइरालालाई सरकारमा पठाउँदा देउवाजीलाई पार्टीभित्रका आफ्ना विरोधीलाई छिन्न भिन्न बनाउने अवसर प्राप्त हुन्छ र, उनी सजिलै फेरि कांग्रेसको सभापति निर्वाचित हुन्छन्। पुनः सभापति भएपछि देउवाजीलाई कसले छुन सक्ने ! यहाँनिर देउवाजीसँग अर्को एउटा ब्रह्मास्त्र पनि छ, उनी नेपाली कांग्रेसमा कुनै सानो दलको विलय गराएर पार्टीको महाधिवेशन नै सार्न सक्छन्। हरिबोलजीको दललाई नेपाली कांग्रेसमा विलय गराएर कांग्रेसको अधिवेशन सार्ने कानुनसम्मत उपाय छ देउवाजीसँग।
देउवाजीले अहिलेसम्म गरेका सबै क्रियाकलाप उत्कृष्ट रहिआएका छन यसमा कुनै सन्देह छैन। तर, सबैलाई यो पनि विदित छ देउवाजीसँग अप्ठेरो परिस्थितिलाई ‘ह्यान्डल’ गरी सहज अवतरण गराउने सीपको सर्वथा अभाव छ। उनी कुशल ड्राइभर होइनन, उनले हाँकेको गाडी जुनसुकै बेला दुर्घटनाग्रस्त हुनसक्ने प्रबल सम्भावना छ।
देउवालगायत देश विदेशका सबै शक्तिले (चीनबाहेक ) खोजेको पनि यही नै हो। यो विभाजन नभएसम्म कुनै पनि किसिमको अर्को सरकार बन्न सक्दैन।
देउवासँग सबैभन्दा राम्रो उपाय यही नै हो, उनले प्रचण्ड समूहलाई अविश्वास प्रस्तावमा अगाडि बढने आश्वासन दिएर प्रस्ताव तुहाइ दिनुपर्छ। यो गर्न साथ प्रचण्ड को राजनीतिक हैसियत धूलिसात हुन्छ। केपी ओली अहिलेकै अवस्थाजस्तै प्रधानमन्त्री रही रहन्छन। न उनको लिंग खुल्छ उनी वामपन्थी हुन कि डेमोक्रेट! न उनको स्थिति नै खुल्छ उनी बहुमतका प्रधानमन्त्री हुन कि अल्पमतका। कांग्रेसका लागि यो स्थिति नै सर्वोत्तम हुन्छ। यस अवस्थामा केपीलाई पुनः संसद विघटन गराएर नयाँ निर्वाचनमा जाने बाध्यात्मक परिस्थितिले आइ छोप्छ।
अथवा उनले केपीविरुद्ध आएको अविश्वास प्रस्ताव पास गराई दिएर ‘वेट एन्ड वाच’को भूमिकामा सीमित हुनुपर्छ। नयाँ सरकार नबने एक डेढ़ महिनामै मुलुक नयाँ निर्वाचनको पथमा अग्रसर हुन्छ। कुनै पनि हालतमा नेपाली कांग्रेसले चुनावलाई ६ महिनाभन्दा बढी लम्बिन दिनु हुँदैन।
देउवाजी यो अरु कसैको होइन, तपाईंको दुर्भाग्य हो। एकजना सन्यासी तपाईंको निवासमा भेट गर्न आउँदा तपाईंले संयम मनस्थिति देखाउनु भएन। ऊ तपाईंलाई वरदहस्तले आशीर्वाद दिन आएको थियो। शायद तपाईंका सहायकहरुले तपाईंलाई गलत समयमा संन्यासीसँग भेट गराए, सन्यासी यही ठानी किर्चित पनि विचलित नभइ तपाईंका निवासबाट बाहिरियो। उसको सुभेच्छा अझै तपाईंसँग छ।
चुनावलक्षित राजनीति गर्नुस् देउवाजी, अहिले उपलब्ध भएका सबै अवसर योभन्दा पनि अनुकूल बनी तपाईंलाई उपलब्ध हुने छन। तपाईंका राजनीतिक गुरु कृष्णप्रसाद भट्टराईको जीवनमन्त्र त्येन त्यक्तेन भुंजीथाः’ लाई स्मरण गर्दै अति संयमित भई अघि बढ्नुस, नेपालबाट कम्युनिस्टहरुको समूल शिरोच्छेदन गर्ने बेला आएको छ। प्रकृतिले यो निर्धारित गरिसकेको छ, निष्काम बनी यस अभियानको निमित्त नायक बन्ने गौरव हासिल गर्नुस। बाबुराम भट्टराईले भारतबाट फर्के पछि र भर्खरै जंगलबाट राजधानी पसेका विप्लवका भनाइ विश्लेषण गरी आफ्नो ‘रोडम्याप’ परिमार्जित गरी तत्अनुसार कार्ययोजना नबनाए प्रकृतिले तपाईंको सट्टा केपी ओलीलाई नै निमित्त नायक बनाउने सम्भावनामाथि विचार गरिरहेको पनि अवगत गराउन चाहन्छु।
धर्मले– प्रकृतिले देशका सबै कौरव समूहलाई शक्तिहीन बनाई देशलाई नयाँ पथमा लैजाने मनशाय बनाएको छ। यसका लागि निमित्त नायक हुने श्रेय २ जनालाई प्राप्त हुन सक्ने सम्भावना छ । त्यों २ जना मध्ये यदि तपाईं नै चयनित हुन चाहनु हुन्छ भने धर्ममय आचरणमा प्रतिबद्ध भएको प्रमाणित गर्न अविलम्ब भगवान् श्री पशुपतिनाथको मंदिरमा गई प्रमाण पेश गर्नुहोस। अन्यथा धर्मले तपाईंलाई नै कौरव समूहको दुर्योधन परिभाषित गर्न किचित पनि विलम्ब गर्दैन।





























प्रतिक्रिया