सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । श्रीलंकालाई ३ विकेटले हराएर वेस्ट इन्डिजले २–१ ले सिरिज आफ्नो पोल्टामा पारेको हो ।
श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । वेस्ट इन्डिजको जीतमा लेन्डल सिमोन्सले सर्वाधिक २६ रन जोडे । यस्तै निकोलस पुरणले २३ रन बनाए । इभिन लेविसले २१ रन जोड्दा फाबियन एलनले अविजित रहदै २१ रन बनाए । क्रिस गेल १३ रनमा आउट हुँदा कप्तान काइरन पोलार्ड शुन्य रनमा पेभेलियन फर्किए । जासन होल्डर १४ रनमा अविजित रहे ।
श्रीलंकाका लक्शान शन्दकानले ३ विकेट लिए । दुश्मन्था चामिरा र हसरंगा डा सिल्भाले २÷२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।
श्रीलंकाका लागि दिनेश चण्डीमालले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४६ बलमा ३ चौका प्रहार गरे । यस्तै अशेन बन्दराले ३५ बलमा ३ चौका र २ छक्कासहित ४४ रन बनाए । कप्तान एन्जेलो म्याथ्युज ११ रनमा आउट भए ।
वेस्ट इन्डिजका फाबियने एलन, केभिन, ओबेड म्याकक्वे र जासन होल्डरले एक एक विकेट लिए । सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजले ४ विकेटको जीत निकालेको थियो । तर, दोस्रो खेलमा श्रीलंकाले ४३ रनको जीत निकालेको थियो ।





























प्रतिक्रिया