हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये
नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन्द्र अब, अलग–अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिएका हुन् । उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गर्ने बारेमा पनि छलफल भएको बताए । बैठकबाट बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मान्ने बताए ।
आइतबारको सर्वोच्चको फैसलासँगै नेपाली राजनीति नयाँ कोर्षमा अघि बढेको छ । त्यसयता पूर्व एमाले र पूर्व माओवादी पक्षीय नेताहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।
यसक्रममा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्ने कुरा सर्वोच्च अदालतसँग सोध्न आग्रह गरेका छन् भने प्रश्न गर्नेले चाँहि कुन पार्टीको हुँ भनेर प्रष्ट हुन अनुरोध पनि गरेका छन् । त्यसैगरी उपप्रधानमन्त्री ईश्वर पोखरेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले अहिले समस्या उत्पन्न भएको धारणा राखेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक समानता बिना सामाजिक र सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने जिकिर गरेकी छिन् । १११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले सरकारले गरेका प्रयास सकारात्मक भएको बताइन् । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका छन् । उपराष्ट्रपति पुनले महिला हिंसाका घटनाहरु न्युनीकरण हुन नसकेको र अपराधीहरु कानुनी दायरामा आउन नसकेकाले सबैले गम्भिरतापूर्वक सोच्ने बेला आएको बताए ।
भारतमा जारी टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिजसँग ३ विकेटले श्रीलंका पराजित भएको छ । वेस्ट इन्डिजले श्रीलंकासँग २–१ ले सिरिज आफ्नो पोल्टामा पारेको हो । दोस्रो खेलमा भने श्रीलंकाले ४३ रनको जीत निकालेको थियो ।
दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छा अनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले प्लाष्टिकले बारेका घरमा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुशी आफ्नो काम गर्ने ठाउँ परिवर्तन गर्न पाउने नियम कोरियाली श्रम तथा रोजगार मन्त्रालयले लागू गरेको हो । रोजगारदाताद्वारा कुटपिट गर्ने, यौन दुव्यवहार गर्ने, अमानवीय व्यवहार गर्ने, तलब दिन ढिलाइ गर्ने लगायतका गल्ती प्रमाणित भएमा श्रमिकले आफूखुशी कार्यस्थल परिवर्तन गर्न पाउने नियम लागू भएको हो ।
नेपाल र बंगलादेश सरकारबीच भएको जीटुजी सम्झौता अनुसार आज पहिलो लटमा दुईहजार पाँचसय टन मल वीरगञ्ज आइपुगेको छ । दुई सरकारबीच सम्झौता भएको साँढे तीन महिनामा मल नेपाल आइपुगेको हो । कृषि सामग्री केन्द्रका अनुसार बंगलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्ये पहिलो लटमा सोही मल नेपाल आइपुगेको हो ।





























प्रतिक्रिया