एमाले र माओवादी केन्द्र अलग अलग हुने ‘सर्वोच्चको फैसला अनुचित’ : दाहाल–नेपाल पक्ष

एमाले र माओवादी केन्द्र अलग अलग हुने ‘सर्वोच्चको फैसला अनुचित’ : दाहाल–नेपाल पक्ष

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूँताउने सर्वोच्च अदालतको फैसला अनुचित भएको निष्कर्ष निकालेको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार अपराह्न बसेको सो पक्षका स्थायी कमिटी बैठकले सर्वोच्चको उक्त निर्णय अनुचित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकालेको हो । सो पक्षले सर्वोच्चको फैसला रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर राजनीतिक फैसलाका रुपमा लिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

“पार्टीको नामका सम्बन्धमा परेको रिट निवेदन हुँदाहुँदै नामका बारेमा निष्कर्ष निकाल्नु पर्नेमा त्योभन्दा बाहिर गएर फैसला गरिएको छ । कुनै राजनीतिक पार्टीको एकता गर्ने÷नगर्ने र राजनीतिक पार्टीलाई विभाजन गर्ने सर्वोच्चको फैसलाप्रति हाम्रो गम्भीर असहमति छ”, उनले भने, “यो अस्वाभाविक, अनुपयुक्त र गलत छ, त्यसैले हामी यो फैसलाप्रति हाम्रो गम्भीर असहमति छ ।”

यद्यपि, सर्वोच्च अदालतको फैसलाप्रति गम्भीर असहमति हुँदाहुँदै उक्त फैसलालाई कार्यान्वयन गर्ने निष्कर्ष निकालिएको उनले बताए। उक्त फैसलाको कानूनी उपचार खोज्ने निष्कर्ष पनि बैठकले निकालेको प्रवक्ता श्रेष्ठको भनाइ छ । 

बैठकले नेपालका कम्युनिष्टलाई एउटै केन्द्रमा ल्याउने पहलकदमी र प्रक्रियालाई जारी राख्ने निर्णय गरेको उनले बताए। प्रवक्ता श्रेष्ठले नेकपाको हैसियतमा सोमबारको बैठक अन्तिम भएको बताए। “अब नेकपाको हैसियतमा यो अन्तिम बैठक हुनसक्छ, सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो, दुईवटा पार्टीका बीचमा फेरि एकताको पहल भयो भने त्यही ढङ्गले हुनेछ ।”, उनले भने ।
 

Skip This
Skip This
Logo