पछिल्ला दिनमा मुलुकभित्र उल्लेख्य मात्रामा जलविद्युत् आयोजना निर्माण भए पनि दक्ष जनशक्तिको अभाव रहँदै आएको तथ्यलाई मनन गर्दै ऊर्जा उद्यमीले साझेदारी गरेरै भए पनि मानवस्रोतको विकासमा ध्यान दिने भएका छन् ।
सोही उद्देश्य अनुसार मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) र गैरसरकारी संस्था शेषकान्त फाउण्डेशनबीच दक्षजनशक्ति उत्पादन गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्य र फाउण्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालले हस्ताक्षर गरे।
जलविद्युत् आयोजना निर्माण, सञ्चालन तथा मर्मतसम्भारका लागि योग्य, आवश्यक र दक्ष सीपयुक्त जनशक्ति उत्पादन गर्ने विषयलाई सम्झौतामा महत्वका साथ समेटिएको छ। इपानका अध्यक्ष आचार्यका अनुसार फाउन्डेसनले जलविद्युत् क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन तथा विकासमा सहकार्य गर्नेछ।
धादिङको धुनिबेँसी नगरपालिकामा हालै सञ्चालनमा आएको फाउण्डेसनले दक्ष जनशक्ति उत्पादनका लागि सरकारसँग अनुमतिसमेत लिएको छ। जर्मन प्राविधिक शिक्षालयको समेत सहयोग रहेको सो फाउण्डेसनले जलविद्युत् क्षेत्रमा अत्यावश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने फाउण्डेसनका अध्यक्ष ढकालको भनाइ छ ।
सबै पाठ्यक्रम तयार पारेर आगामी छ महिनाभित्र जलविद्युत् क्षेत्रका लागि जनशक्ति तालीम दिन शुरु गर्ने जानकारी दिँदै अध्यक्ष ढकालले प्रवर्धकसँगको सहकार्यमा नै काम हुने बताए । हाल शिक्षालयमा २० ले प्रशिक्षण लिइरहेका छन् । निर्माणाधीन होस्टल, शिक्षालय भवन र उपकरण आयातसहित हालसम्म १४ करोड खर्च भइसकेको छ ।रासस





























प्रतिक्रिया