पुलिस मेयर्सकप पुरुष क्रिकेटको फाइनलमा प्रवेश

पुलिस मेयर्सकप पुरुष क्रिकेटको फाइनलमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौं मेयर्सकप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाडौं मेयर–११ लाई १ सय ३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो।

पुलिसले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले ३१ ओभर २ बलमा अलआउट हुँदै ९४ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाए । यस्तै कृष्ण कार्कीले १९ रन जोड्दा सिद्दान्त लोहनीले १८ रन जोडे। 

काठमाडौंका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न पुलिसका पवन सर्राफले ४ विकेट लिए । प्लेयर अफ दि म्याच बनेका उनले मात्र १६ रन खर्चिए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३ तथा ललित राजवंशीले २ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन बनाएको थियो । पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए । ५५ बलमा उनले ४ चौका प्रहार गरे । यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा पवन सर्राफले २८ रन बनाए।

दीपेन्द्र सिंह ऐरी २४ रनमा आउट हुँदा सुनिल धमला २२ तथा दिलिप नाथ १२ रनमा आउट भए । काठमाडौंका लागि कप्तान सन्दीप लामिछाने, हरिशंकर शाह र विपिन खत्रीले ३/३ विकेट लिए ।

प्रतियोगितामा पुलिसको यो तेस्रो जीत हो। जीतसँगै पुलिसले ४ खेलमा ६ अंक जोड्दै फाइनलमा पुगेको हो। पुलिस तालिकाको शीर्ष स्थानमा समेत रहेको छ । पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो। दोस्रो खेलमा एपीएफसँग पराजित पुलिसले तेस्रो खेलमा आर्मीलाई हराएको थियो ।

काठमाडौंको यो दोस्रो हार हो । काठमाडौंले ३ खेलमा २ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको काठमाडौंको पनि फाइनल पुग्ने सम्भावना रहेको छ। पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौं दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो ।

Logo