धनगढीमा एमालेको ओली र नेपाल समूहबीच कुटाकुट

धनगढीमा एमालेको ओली र नेपाल समूहबीच कुटाकुट

केन्द्रबिन्दु
0
Shares

कैलालीमा एमालेभित्रका दुई समूहबीच कुटाकुट भएको छ। प्रदेश पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ताबीच कुटाकुट भएको हो।

पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए । यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए। विवाद बढ्दै गएपछि कुटाकुट भएको हो।

बुधवार प्रदेश पार्टी कार्यालयमा नेकपाको ब्यानर हटाएर नेकपा एमालेको ब्यानर राख्ने कार्यक्रम तय भएको थियो। ११ बजे नेकपा एमालेको ब्यानर लिएर प्रदेशका अध्यक्ष कर्ण थापा पार्टी कार्यालयमा पुगेका थिए तर, त्यहाँ उपस्थित प्रहरीले नेता थापालाई पार्टी कार्यालयभित्र छिर्न दिएन।

प्रदेश अध्यक्ष थापा कार्यालय प्रवेश गर्दा सम्म नेकपाको ब्यानर हटाएर एमालेको ब्यानर राखिसकिएको थियो । नेपाल समूहका कार्यकर्ताहरुले ब्यानर राखेका थिए। थापा प्रवेश गर्दा प्रदेश पार्टी कार्यालयमा अध्यक्षको कार्यकक्ष बाहिर भानुभक्त जोशी र इन्चार्जमा भीम रावलको नेमप्लेट थियो । त्यही समयमा दुवै जनाको नेमप्लेट निकालियो । ती दुई स्थानमा कर्ण थापाको र लेखराज भट्टको नाम राखिएको थियो । 

त्यस लगत्तै नेपाल समूहका कार्यकर्ताहरुले लेखराज भट्टको नेमप्लेट हटाएका थिए । उनीहरूले पार्टीको प्रदेश इन्चार्ज भीम रावल रहेको दाबी गरे । भीम रावल जिन्दावाद भन्दै नाराबाजी गरिरहेको अवस्थामा केपी ओली जिन्दावाद भन्दै ओली समूहका युवाहरूले नाराबाजी गरेका थिए। विवाद बढेपछि झडपको स्थिति भएको थियो । झडपपछि एमालेका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा त्यसअघि लगाइएको एमालेको ब्यानर लगाएर  नयाँ ब्यानर लगाइएको थियो। ओली समूहका कार्यकर्ताहरुले भीम रावलको नेमप्लेट समेत तोडफोड गरेका थिए।

Logo