नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता झलनाथ खनालले पुनर्स्थापित संसदबाट नयाँ खेलको सुरुवात हुने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद राजनीतिक पार्टी र राजनीतिज्ञहरुको खेल खेल्ने सर्वोच्च राजनीतिक मञ्च भएको उल्लेख गर्दै संसदबाट नयाँ खेलको सुरुवात हुने बताए । कुन र कस्तो खेल भन्ने स्पष्ट नपारे पनि उनले नयाँ खेल कसरी हुन्छ भन्ने कुराको परिदृश्य बिस्तारै देखिँदै जाने टिप्पणी गरे । संसदले मुलुकलाई राम्रो निष्कर्षतर्फ लानुपर्ने उनको भनाइ छ । उनले नेकपा एमाले देशका वामपन्थी एकताको पक्षमा रहेको र सो मुद्दा कहिल्यै पनि नछाड्ने समेत बताए ।
नेकपा (एमाले) का नेता माधवकुमार नेपालले पार्टी र सरकारलाई कसरी लाने र अन्य पार्टीसँगको सहकार्यलाई कसरी लाने भन्ने विषयमा बिस्तृत रुपमा छलफल गर्ने बताए । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदमा रहेका राजनीतिक दलहरुले आफ्नो स्थिति प्रष्ट नगरेको स्थितिमा ओली नेतृत्वको सरकारको बहुमत गुमेको भन्न नमिल्ने बताएका छन् । जनता समाजवादी पार्टीसँग सत्ता सहकार्यका निम्ति निरन्तर कुराकानी गरिरहेको भन्दै उपनेता नेम्वाङले रेशम चौधरी लगायतका मधेश आन्दोलनमा भएका मुद्धा फिर्ता लिने र रिहाइ गर्नुपर्ने भन्ने जसपाको मागमा सरकार सकारात्मक र गम्भिर रहेको तर्क राखे ।
नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा माओवादी, कांग्रेस र जसपाको सरकार बनाउने विषयमा छलफल हुने बताए । सरकारले संसदलाई बिजनेश नदिएका कारण संसद बैठक लम्बिइरहेको पनि उनको टिप्पणी छ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पारे । वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको मुल ध्यये भएको उनको भनाइ छ । जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरी लगायतका मुद्धा फिर्ता, मधेश÷थारुहट आन्दोलनका मुद्धाहरु फिर्ता, संविधान संशोधन लगायतका सवालहरु केपी ओली समक्ष पटक–पटक राखिएको भएपनि ओलीले ठग्ने बाहेक केही काम नगरेको बताए । आफ्नो मागहरु जसले पुरा गर्छ, उसैलाई समर्थन गर्ने नेता महतोको भनाइ छ ।
सत्ता समिकरणको सम्बन्धमा जसपा कुनै पक्षसँग नभएको उनले स्पष्ट पारे । आफ्ना मुद्धाहरु सम्बोधन भए सरकार बारे सोच्ने उनको भनाइ छ ।































प्रतिक्रिया