नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताएका छन्।
आइतबार नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् । क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा बन्दुक उठ्ने दाबीसमेत गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरु संसदवादी मूलधारमा आएको अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरु संसदवादी मूलधारमा नभएको र आफूहरुले वर्तमान व्यवस्था नमान्ने पनि बताए।
उनले भने, –‘प्रधानमन्त्रीजीले दुईवटा कुरा भन्नुभयो । एउटा कुरा के भन्नुभो भने अब सबै संसदवादी मूलधारमा आए भन्नुभो । यो झुठ हो । सरासर झुठ हो । संसदवादी मूलधारमा छैनन् यी क्रान्तिकारीहरु । हामी छैनौँ । यो व्यवस्थालाई मान्दैनौँ । त्यसकारण संसदीय मूलधारमा जाने कुरा आउँदैन । क्रान्ति गर्नु पर्छ। पहिलो कुरा त्यो हो। दोस्रो कुरा, अब शान्तिको नयाँ युग शुरु भो भन्नुभयो । यो पनि झुठ हो। विप्लवजीहरुले सम्झौता गर्न बित्तिकै शान्तिको युग उहाँहरुले भनेजस्तो शुरु भएको छैन। यहाँका समस्याहरु हुन्, जबसम्म समाधान हुँदैन तबसम्म शान्तिको युग सुरु हुँदैन । सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यी कम्युनिष्ट नामधारीहरु शहीदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ ? शान्तिको संविधान छैनन् । शान्तिको युग क्रान्ति गरेपछि आउँछ । बन्दुक उठाएपछि के हुन्छ , बन्दुक उठ्छ ।’
महासचिव वैद्यले मजदुर, किसान, महिला, दलित, आदिबासी जनजाति, मधेसी, लगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रान्तिको तयारी गर्नुपर्ने बताए।





























प्रतिक्रिया