अर्थ मन्त्रालयले आर्थिक बर्ष २०७८/७९ को बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ।
अर्थ मन्त्रालयले आगामी बजेट तर्जुमा गर्न सोमबार सबै मन्त्रालयहरुसँग गरेको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो। अर्थमन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्तावभन्दा पनि अघिल्लो आर्थिक बर्षका क्रमागत आयोजना नै समयमै सम्पन्न गर्न मन्त्रालयहरुलाई आग्रह गरेको हो। छलफलमा अर्थमन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव धनीराम शर्माले अघिल्ला आर्थिक बर्षको क्रमागत आयोजना नै सम्पन्न गर्ने विषयलाई प्राथमिकताका साथ राखी सोही अनुरुप योजना तर्जुमा गर्न आग्रह गरे। उनले अगाडि नबढाई नहुने आयोजना भने अध्ययनको लागि प्रस्ताव गरेर अगाडि बढाउन सकिने बताए।
अर्थ मन्त्रालयले सरकारले उपलब्ध गराउने सशर्त अनुदानको बारेमा भने त्रिपक्षीय छलफल गरेर मात्र योजना बनाउने भएको छ । सशर्त अनुदानमा सञ्चालित आयोजनाको कार्यान्वयन प्रभावकारी नभएको र अपनत्व पनि कसैले नलिएका कारण अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय र प्रदेशसँग छलफल गरेर मात्र अगाडी बढाउने महाशाखा प्रमुख शर्माले जानकारी दिए।
अर्थमन्त्रालयले कार्य सञ्चालन खर्चमा समेत मितव्ययीता अपनाउन आग्रह गरेको छ। सरकारले आगामी बजेटमा कार्यसंचालन सम्बन्धि बजेट बृद्धि नगर्ने भएकाले मन्त्रालयहरुलाई बजेट नबढाउन आग्रह गरिएको हो। बजेट पूर्वको छलफलमा विभिन्न मन्त्रालयका सचिव, योजना तथा कार्यक्रम प्रमुखहरुले आ–आफ्नो मन्त्रालयबारे धारणा राखेका थिए।































प्रतिक्रिया