नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु (LIVE)

नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु (LIVE)

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) को नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ। आज र भोलि राजधानीमा हुने राष्ट्रिय कार्यकर्ता भेलामा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ ।   
उक्त समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको घडीमा धैर्य र संयमताका साथ पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकमा आग्रह गरेका छन्। राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मतरुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने उनले जानकारी दिए।
    
भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणापत्र प्रस्तुत गरिने, टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्न पाउने गरी छलफल गरिनेछ । भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, सङ्घ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ । 

भिडियाे यहाँ हेर्नु हाेला

पार्टी एकता विरोधी, विधान प्रतिकूल र एकलौटी कदमले सिर्जना गरेका पार्टी एकताका चुनौतीलाई एकताबद्धरुपमा प्रतिवाद गर्दै असफल पार्न आम पार्टी पङ्क्तिलाई आह्वानसमेत गरिएको छ । 

सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) पुनःस्थापना हुनुको अर्थ कुनै व्यक्ति विशेषको मात्र पुनःस्थापना नभई सिङ्गो पार्टीको पुनःस्थापना भएकाले त्यसअनुसार पार्टी पंक्तिलाई परिचालन गरेर मात्र पार्टी बलियो हुने उक्त समूहको ठहर छ । एमाले पूर्ववत अवस्थामा फर्किनु भनेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीको स्वतः पुनःस्थापना भएको र सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास भइरहेका भेला आयोजना गर्नु परेको आयोजकले जनाएको छ ।
 

Logo