कांग्रेस नेता अशोक कोइरालाको निधन

कांग्रेस नेता अशोक कोइरालाको निधन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस मोरङका अग्रज नेता अशोक कोइरालाको निधन भएको छ । निमोनियाबाट पीडित उनको उपचारका क्रममा विराटनरको न्यूरो अस्पतालमा बुधबार राति निधन भएको हो ।

पूर्वप्रधानमन्त्री तथा तत्कालिन कांग्रेस सभापति स्व सुशील कोइरालाका सहोदर भाइ अशोक नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका एक हुन् ।

प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो मेयर भएका उनी मोरङ कांग्रेसको १९ वर्षसम्म सभापति थिए । राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य समेत भएका ७७ वर्षीय कोइराला हाल कांग्रेस महासमिति सदस्य हुन् ।

शेरबहादुर देउवा नेपाल विद्यार्थी संघका अध्यक्ष हुँदा कोइराला उपाध्यक्ष थिए । उनको निधनप्रति सभापति देउवाले आफू निकै मर्माहित भएको उल्लेख गरेका छन् । सामाजिक संजाल फेसबुकमा देउवाले कोइरालाको निधनले कांग्रेसले एउटा असल नेता गुमाएको उल्लेख गरेका छन्। 'दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।'- देउवाले भनेका छन् ।

कोइरालाका एक छोरा र एक छोरी छन् । उनको आजै स्थानीय सिंघीया घाटमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ।

Logo