केन्द्रबिन्दु बुलेटिन : ‘ओली र मेरो सम्बन्ध सजिलै छुट्दैन’-माधव नेपाल (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : ‘ओली र मेरो सम्बन्ध सजिलै छुट्दैन’-माधव नेपाल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टीका अध्यक्ष केपी ओलीसँग छुट्टिइहाल्ने पक्षमा नभएको बताएका छन् । उनले आफूहरुको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने दावी गरे। शनिबार नै नेकपा एमाले नेपाल–खनाल पक्षका ३८ जना सांसदहरुसहित सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठक पनि सम्पन्न गरेको गरेको छ।

नेकपा एमाले संसदीय दलको बैठकले दलको विधान २०७७ पारित गरेको छ। बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा विधान संशोधनका लागि गठित विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधनसहित पारित गरिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। यसैबीच आजै बसेको नेकपा एमालेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावलसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरको छ।

सत्तारुढ नेकपाको औचित्य समाप्त भएसँगै एमालेमा पनि देखिएको आन्तरिक विवादका बीच नयाँ सत्ता समीकरणको विषयले प्रसय पाइरहेको छ। यसमा नेपाली कांग्रेस प्रमुख निर्णायक बन्ने निश्चित छ। यही प्रसंगमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्न लालायित नभएको तर, टाउकोमा आयो भने भाग्ने पक्षमा भने नरहेको बताएका छन्। यता, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भएपनि ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिएका छन्।

फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुसी रहेका अध्ययनले देखाएको छ।  खुसी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सबैभन्दा अगाडि परेको हो। नेपाल दक्षिण एसियाकै खुसी देश घोषित भएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ को खुसी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको हो।

नेपालमा थप अर्को एक कम्पनीद्वारा तयार कोरोना भाइरस विरुद्धको खोपले आकस्मिक प्रयोगको अनुमति पाएको छ। औषधि व्यवस्था विभागद्वारा कोभ्याक्सिनलाई आकस्मिक प्रयोगका लागि अनुमति प्रदान गरेको हो। यस्तै कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Logo