सांसदहरुले आगामी आर्थिक बर्षका लागि बजेट विनियोजनको आधार तथा योजनाबारे अर्थमन्त्रालयसँग छलफल गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।
संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको अर्थसमितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले बजेट बाँडफाँड र योजना तर्जुमामा विगतमा जस्तै पुरानै समस्या अहिले पनि रहेको भन्दै त्यसबारे छलफल गर्न सुझाएका हुन् । उनीहरुले बजेट प्रणालीलाई बलियो बनाउने गरी भिन्न अभ्यासको सुरुवात नगर्ने हो भने विगतमा जस्तै समस्या यसपटक पनि देखिने भन्दै तत्काल सो बारे आवश्यक जानकारी मन्त्रालयसँग माग्नुपर्ने धारणा राखे । केही समिति सांसदहरुले बजेट पूर्व सातै प्रदेशमा स्थलगत अध्ययन भ्रमण गरी बजेट बाँडफाँड र योजना तर्जुमामा सरकारलाई सुझाव दिनुपर्ने तर्क पनि गरेका थिए ।
पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले बजेट निर्माणको अन्तिम समयमा सुझाव दिएर त्यसको खास प्रभाव नदेखिने भएकाले बजेट बाँडफाँडमा अबलम्बन गरिने राष्ट्रिय नीति र योजनाको संरचनामा छलफल गर्नुपर्ने आवश्यकता औल्याए । उनले स्थलगत भ्रमण गर्नु राम्रो कुरा भएपनि बेलैमा सुझाव दिनुपर्ने तर्फ पनि समितिको ध्यानाकर्षण गराए ।
त्यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले नै बजेट प्रणालीलाई कमजोर बनाएको आरोप लगाए । उनले बजेट बाँडफाँडको अधिकार लिएका मान्छेबाट नै त्यसलाई कमजोर बनाउने काम भएको टिप्पणी पनि गरे । सबैलाई छर्ने ढंगले सरकारले बजेट ल्याउने गरेकाले बजेट बाँडफाँड तथा योजना प्राथमिकिकरणमा सधैं समस्या देखिने गरेको उनको भनाइ छ ।
केही सांसदहरुले भने क्षेत्रगत आवश्यकता र योजनाको प्राथमिकीकरण गर्नका लागि भौगोलिकता र क्षेत्रिय बनोट अनुसार प्राथमिकता दिनुपर्ने विषयलाई पूर्व तयारी गरेर अध्ययन भ्रमणमा जानुपर्ने सुझाव दिएका छन् । सांसद रामबाबु कुमार यादवले वर्तमान राजनीतिक अवस्थामा कुन बेला के हुन्छ भन्ने अनिश्चित भएका बेला समितिका कामहरुलाई तिब्रताका साथ सम्पादन गर्नुपर्ने बताए । उनले मधेसमा हुलाकी राजमार्ग, नीजगढ विमानस्थल, दु्रत मार्ग लगायतको प्रगति समिक्षा गरेर सरकारलाई आवश्यक सुझाव र निर्देशन दिनुपर्ने धारणा राखे ।
त्यसैगरी मेटमणी चौधरी, प्रमिला राई र सरावत आराखानमले क्षेत्र पहिचान गरी क्षेत्रिय समस्याका बारेमा पूर्व जानकारी लिएर तयारीका साथ भ्रमण अनुगमन गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले समितिले विमासम्बन्धी विधेयक लगायत विधेयकलाई पनि छलफल गरी टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका थिए ।
बैठकको सुरुमै समिति सभापति कृष्णप्रसाद दाहालले बजेट पूर्व सातै प्रदेशको अध्ययन भ्रमण गरी सम्भाव्यता र आवश्यकताका आधारमा बजेट र योजना तर्जुमा गर्न अर्थ मन्त्रालयलाई सुझाव दिने गरी अध्ययन भ्रमण जाने प्रस्ताव राखेका थिए ।
केही सांसदहरुले अध्ययन भ्रमणमा जानु राम्रो कुरा भएपनि पहिले विधेयक निर्माण प्रक्रियालाई टुंगो लगाएर मात्रै अन्य काममा हात हाल्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले बिमा सम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउनुपर्नेमा जोड पनि दिए ।





























प्रतिक्रिया