हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी विदेशीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको आरोप लगाएका छन्। अध्यक्ष प्रचण्डले दलित र महिलालाई विशेषाधिकार दिनका निम्ति आफूले पहल गरेको बताए । त्यस्तै उनले नेपाली जनताले आत्मनिर्णयको अधिकार खोज्नुपर्ने अवस्था आएको समेत बताएका छन्।
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप सुरक्षित रहेको भन्दै खोप लगाउन विश्वका देशहरुलाई आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपमा आवश्यक स्वास्थ्यसम्बन्धी अनुसन्धान गरेको तर त्यस्तो कुनै पनि खराबी भने नदेखिएको बताएको छ । हाल विश्वका कतिपय देशहरुमा वितरण गरिरहेको कोरोना विरुद्धको खोपमा ९० प्रतिशतभन्दा बढी यही खोप रहेको छ।
साताको पहिलो दिन आज शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ६३.३८ अंकले बढेर २ हजार ५३८.४७ विन्दुमा पुगेर कारोबार बन्द भएको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ९.४४ अंक बढेर ४५३.५९ विन्दुमा पुगेको छ। आज कारोबारमा आएका सबै उपसमूहका परिसूचक बढेका छन्। जसमा लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५.७ प्रतिशत बढेको छ। आज सबैभन्दा बढी स्वरोजगार लघुवित्त विकासले कमाएको छ भने हिमालयन ऊर्जा विकास कम्पनीले सबैभन्दा धेरै गुमाएको छ।
सांसदहरुले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजनको आधार तथा योजनाबारे अर्थमन्त्रालयसँग छलफल गर्नुपर्ने आवश्यकता औल्याएका छन्। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले बजेट बाँडफाँड र योजना तर्जुमामा विगतमा जस्तै पुरानै समस्या अहिले पनि रहेको भन्दै त्यसबारे छलफल गर्न सुझाएका हुन्।
कोभिड १९ को प्रभावका कारण सर्वोच्च लगायत देशभरका अदालतमा धेरैवटा मुद्दा अझै फर्छ्योट हुन सकेका छैनन् । कोभिडसँगै अदालतबाट फैसला भएका मुद्दाको कार्यान्वयन पक्ष पनि फितलो भएको एक प्रतिवेदनले देखाएको छ। देशभरमध्ये हाल सबैभन्दा धेरै उच्च अदालत पाटनमा मुद्दा दर्ता भएका छन् भने सबैभन्दा कम मनाङमा दर्ता भएका छन्। देशभरको तथ्यांक हेर्दा सबैभन्दा धेरै अंशबन्डासम्बन्धि मुद्दा दर्ता भएको छ।





























प्रतिक्रिया