बढ्दै व्यापारघाटाको खाडल : आठ महिनामा ८ खर्ब ६३ अर्बको व्यापारघाटा

बढ्दै व्यापारघाटाको खाडल : आठ महिनामा ८ खर्ब ६३ अर्बको व्यापारघाटा

केन्द्रबिन्दु
0
Shares

भन्सार विभागको पछिल्लो ८ महिनाको तथ्यांकले व्यापारघाटा उच्च परिमाणमा बढेको देखाएको छ। भारतसहित तेस्रो मुलुकबाट आयात हुने वस्तुका कारण व्यापारघाटा बढ्दै गएको हो। निर्यातको तुलनामा आयातदर उच्च परिमाणमा बढेको छ। समीक्षा अवधिमा गत वर्षको ८ महिनाको तुलनामा १.६३ प्रतिशतले व्यापारघाटा बढेको हो। साउनदेखि फागुनसम्म ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँबराबरको व्यापारघाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ व्यापारघाटा भएको थियो।

कोभिड १९ को महामारी, लकडाउन र आयात प्रक्रिया अवरुद्धका कारण घट्दै गएको आयात दर सबै क्षेत्र सामान्य हुँदै गएपछि उच्च गतिमा बढेको हो। आयातको दर गत वर्षको चैतअघिको अवस्थामै फर्किएको छ। गत वर्षको ८ महिनाको तुलनामा चालु वर्षको पहिलो ८ महिनामा आयातको हिस्सा २.१४ प्रतिशतले बढेको छ। साउनदेखि फागुनसम्म ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँबराबरको विभिन्न वस्तु आयात भएको छ। अघिल्लो वर्षको यही अवधिमा भने ९ खर्ब २४ अर्ब २४ करोड रुपैयाँबराबरको आयात भएको थियो।

विभागको तथ्यांक अनुसार यो अवधिमा सबैभन्दा बढी १ खर्ब २१ अर्ब ६१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। फलाम तथा स्टिल ९४ अर्ब ५८ करोड रुपैयाँको भित्रिएको छ। सवारी साधन तथा पार्टपुर्जा ६२ अर्ब ८३ करोड, प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु ३६ अर्ब ९१ करोड, जनावर तथा वनस्पतिजन्य बोसो तेल ४२ अर्ब र औषधि १९ अर्ब रुपैयाँको आयात गरिएको छ। यस्तै, ७१ अर्ब ४३ करोड रुपैयाँबराबरको विभिन्न प्रकारका इलेक्ट्रोनिक्स सामग्री आयात भएको छ। जसमा मोबाइलको हिस्सा अत्यधिक छ।

वैदेशिक व्यापार सबैभन्दा बढी भारतसँग भएको छ। यो अवधिमा भारतबाट ६ खर्ब २२ अर्ब ३० करोड रुपैयाँका विभिन्न वस्तु आयात भएको छ। नेपालबाट भने ५८ अर्ब १९ करोड रुपैयाँबराबरको विभिन्न वस्तु निर्यात भएको छ। भारतसँग मात्रै ६ खर्ब ६४ अर्ब १० करोड रुपैयाँबराबरको व्यापारघाटा भएको छ।

८० अर्बको निर्यात
पछिल्लो ८ महिना अवधिमा नेपालबाट विभिन्न मुलुकमा ८० अर्ब रुपैयाँका विभिन्न वस्तु निर्यात भएका छन्। यो अवधिमा सबैभन्दा बढी भटमासको तेल निर्यात भएको छ। विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयातपश्चात् प्रशोधन गरी नेपालबाट निर्यात हुँदै आएको छ। २३ अर्ब १२ करोड रुपैयाँबराबरको भटमास तेल निर्यात भएको छ। अघिल्लो वर्ष यही अवधिमा ७ अर्ब ५२ करोड रुपैयाँको यो तेल निर्यात भएको थियो।

यस्तै, ४ अर्ब ९५ करोडको अलैंची, ५ अर्ब १ करोडको सेन्थेटिक यार्न, ४ अर्ब ७४ करोडको उनी गलैचा, ३ अर्ब ६१ करोडको तयारी कपडा, ३ अर्बको चिया र २ अर्ब ९१ करोडको जुटका कपडा निर्यात भएको छ।अन्नपूर्णबाट

Logo