वार्षिक लक्ष्यको ५९.६९ प्रतिशत राजस्व असुली

वार्षिक लक्ष्यको ५९.६९ प्रतिशत राजस्व असुली

केन्द्रबिन्दु
0
Shares

आर्थिक वर्ष २०७७/७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा ५९.६९ प्रतिशत राजस्व असुली भएको छ। 

अर्थ मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०७७/७८ को दोश्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गरिएको जानकारी अनुसार २०७७ साल फागुन मसान्तसम्ममा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजस्व असुली भएको छ । जुन फागुनसम्मको लक्ष्यको तुलनामा ९७. ८० प्रतिशत हो। 

त्यस्तै, ०७७ साल चैत्र ११ गतेसम्म ६ खर्ब ४१ अर्ब राजस्व असुली भएको छ। आर्थिक वर्ष २०७७/७८ मा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व असुल्ने लक्ष्य राखिएको थियो। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ ले पारेको प्रभावबीचमा राजस्वको लक्ष्य पुरा हुनेमा दुविधा नरहेको बताएका छन्। पर्यटन बाहेक धेरै क्षेत्र सामान्य अवस्थामा फर्किसकेको भन्दै अर्थमन्त्री पौडेलले लक्ष्य भन्दा बढी राजस्व असुल्ने गरी परिणाम निकाल्न निर्देशन दिएका छन्। 

राजस्व सचिव रामशरण पुडासैनीले आर्थिक गतिविधिहरु बढेको भन्दै राजस्वको लक्ष्य नपुर्याउने छुट नभएको बताए। 

बैठकमा प्रस्तुत जानकारी अनुसार चालु आर्थिक वर्षको फागुन महिनासम्ममा चालूतर्फ ४ खर्ब ५५ अर्ब  रुपैयाँ खर्च भएको छ । जुन वार्षिक बजेटको तुलनामा ४८.१८ प्रतिशत हो। यस्तै पुँजीगततर्फ ७९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ । जुन वार्षिक बजेटको तुलनामा २२.४४ प्रतिशत हो ।

अर्थमन्त्री पौडेलले दुरुपयोग हुन नहुने, प्राथमिकता निर्धारणमा चुक्न नहुने र समयमा खर्च गर्ने परिपाटी जरुरी रहेको भन्दै खर्च गर्ने प्रणालीमा रहेका बन्धनहरुलाई हटाउन आवश्यक रहेको बताए। अर्थसचिव शिशिरकुमार ढुंगानाले पूर्वनिर्धारित कार्यक्रम अनुसार खर्च बढाउनका लागि सबै निकाय विशेष सक्रिय हुन जरुरी रहेको बताए। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले योजना बनाउँदा नै विशेष ध्यान दिन आवश्यक रहेको भन्दै सहजीकरणका लागि अर्थ मन्त्रालयले विशेष भूमिका निर्वाह गर्नु पर्ने धारणा व्यक्त गरेका छन्।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले सिर्जना गरेको चुनौतीलाई सामना गर्नका लागि सहुलियत कर्जा, पुनर्कर्जा, व्यवसायिक निरन्तरता कर्जा लगायतका कार्यक्रमहरु ल्याइएको भन्दै सबैको मेहनतले उपलब्धीहरु हासिल भएको बताए। 

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले समग्रमा वित्तीय स्थिति सकारात्मक रहेको बताए। बैठकमा उनले आर्थिक वर्ष २०७७/७८ को दोश्रो चौमासिक प्रगति समीक्षा र चुनौतीहरु सम्बन्धी प्रस्तुत गरेका थिए।

Logo