हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये काठमाडौंं उपत्यकाको आकाशलाई शुक्रबार एक्कासी तुवाँलोले ढोकेको छ। जल तथा मौसम विभागका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याउँदा काठमाडौंमा वायु प्रदूषण भएको हो। अत्तरियादेखिको हावा काठमाडौं आइपुगेको छ भने भारतको उत्तदरप्रदेश, विहार हरियाणासम्मको वायुमण्डलसमेत धुलोले ढाकेको मौसम विभागले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) ले फागुन २८ गतेपछि गरेका निर्णयहरु फिर्ता नहुने बताएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा (एमाले)को संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गतेपछि भएका पार्टीका निर्णयहरु फिर्ता नहुने बताएका हुन् । बैठकमा नेताहरु झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टले पनि आ–आफ्नो धारणा राखेका थिए।
चीन विरोधी अभियानमा संलग्न रहेको आरोपमा केही बेलायती नागरिक एवं संस्थामाथि चीनले शुक्रबार प्रतिबन्ध लगाएको छ। खासगरी चीनको मुस्लिम बहुल जिनजियाङ क्षेत्रमा मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै युरोपेली युनियन र बेलायतले केही चिनियाँ पदाधिकारीमाथि प्रतिबन्ध लगाएपछि त्यसको विरोधमा चीनले यस्तो कदम चालेको हो । चीनले तयार पारेको प्रारम्भिक विवरणमा तत्कालका लागि नौ जना बेलायती नागरिक र चारवटा संस्थामाथि प्रतिबन्ध घोषणा गरिएको छ।
चालू आर्थिक वर्षको ८ महिनामा १६ अर्बको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा १६ अर्ब २८ करोडको सुन आयात भएको हो, जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३ अर्ब ७१ करोडले बढी हो। दशैंतिहार र विवाहजस्ता कार्यक्रममा सुनका गरगहना लगाउने, आदानप्रदान गर्ने प्रचलन भएकाले त्यो समयमा व्यवसायीले सुनको आयात बढाएका थिए।
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायातलाई कडाइ गर्ने निर्णय भएको हो। शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णयसमेत भएको कार्यालयले जनाएको छ।





























प्रतिक्रिया