बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा २ जनाकाे मृत्यु भएकाे छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा अन्य थप ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जनाकारी दिए ।
गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा निसीखोला-७ राजकुतका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो । साथै घाइतेहरूकाे अवस्था सामान्य भएकाेले उनीहरू स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी हवारीका अनुसार मेलामा झगडा भएपछि उनीहरुलाई भीरबाट धकेलिएको स्थानीयहरूले बताएका छन् ।
यसअघि धेरै जना सम्पर्कविहीन भएका थिए तर, राति अबेर सबैजना सम्पर्कमा आइसकेको उनले बताए । २ जनाबाहेक कसैकाे हताहती नभएकाे बताए, 'प्रारम्भिक अनुसन्धानमा हेर्दा पूर्वनिर्धारित कुनै योजना नभई एउटा समूहकी महिलालाई अर्को समूहका युवाले रङ लगाउन खोज्दा घटना भएको देखिन्छ ।'
बडीगाड-१० दर्लिङका युवाहरू होली मनाउने र बनभोज पनि खाने गरी जम्मा भएका बेला अर्को क्षेत्रबाट गएका युवाहरूले महिलालाई रङ लगाउन खोज्दा घटना भएको उनले बताए।
अहिले प्रहरीले घटनामा संलग्न दुबै वडाका युवासँग सोधपुछ गरिरहेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिए। अहिले जिल्ला र इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट घटनास्थलमा उल्लेख्य प्रहरी परिचालन गरी शंकास्पदहरूलाई निगरानीमा राखिसकिएकाे छ । अब छिटै पक्राउ परी थप अनुसन्धान थालिने सूचना अधिकारी हवारीले बताए ।































प्रतिक्रिया