मैत्रिपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लब किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको छ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा त्रिभुवन आर्मी क्बलले प्रतिस्पर्धात्मक खेलमा पनि गोल गर्न भने असफल रह्यो। खेल अवधिभर दुबै टोलीले राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न भने चुकेका थिए।
घरेलु दर्शकको साथ पाएको आर्मी क्लबले सुरुआतबाट नै आक्रामक खेल खेलेको थियो । खेलको पहिलो मिनेटमै विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठको हेडर किर्गिस्तानका गोलकिपर प्रियादकिन आर्तिमले उत्कृष्ट बचाउ गर्दा आर्मीले अग्रता लिने मौका गुमेको थियो। त्रिदेशिय फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेल बंगलादेशसँग हारेको किर्गिस्तानले आर्मीविरुद्ध सुधारिएको खेल देखाएको थियो। २६ औं मिनेटमा १८ यार्डबाट अभिलोभ अर्नाजको भली प्रहार पोस्ट बारमा लागेर फर्किंदा किर्गिस्तान अग्रता बनाउन असफल भएको थियो।
४७ औं मिनेटमा विवेक बस्नेतले पेनाल्टी क्षेत्र बाहिर पाएको अवसर सदुपयोग गर्न सकनेन्। अनमार्क रहेका उनको प्रहार गोल पोस्ट माथिबाट बाहिरिएको थियो। खेलको ७३ औं मिनेटमा पेनाल्टी भित्रबाट नवयुग श्रेष्ठको प्रहार फितलो भएको थियो। ८५ औं मिनेटमा किर्गिस्तानले गोलका लागि अवसर सिर्जना गरे पनि अग्रतपंक्तिले सदुपयोग गर्न सकेनन्।
एएफसी कप–२०२१ अन्तर्गत आर्मीले प्ले अफमा श्रीलंका पुलिससँग चैत २५ गते प्रतिस्पर्धा गर्दैछ। अनुभव बटुल्नका लागि भएको मैत्रिपूर्ण खेलमा आर्मी नियमित स्ट्राइकर भरत खवास र गोलकिपर विकेशी कुथु बिना मैदान उत्रिएको थियो ।
पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ। आर्मीले भारतको टोलीसँग बैशाख १ गते खेल्नेछ। भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मी बैशाख ८ गते प्रतिस्पर्धा गर्नेछ। एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल्न लागेको हो। सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन हुने टोलीले मौका पाउँने भए पनि मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।





























प्रतिक्रिया