साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री

साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन्।

ओलीले सामाजिक सुरक्षा भत्ता बढ्ने कुरा सुनेर केही मान्छेलाई आजैबाटै निद्रा नलाग्ने र छट्पटी सुरु हुने आरोप पनि लगाएका छन्। सामाजिक सुरक्षा भत्ता बढ्ने बताए पनि कति बढाइने भन्ने बारेमा भने प्रधानमन्त्रीले खुलाएनन् । 

मंगलबार रिपोर्टस क्लव नेपालको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताएका हुन् । प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षमा विद्यालयहरुको पूर्वाधार विकासका लागि ५ अर्ब बढी रकम वितरण गरिने पनि बताए। 

उनले भने,  ‘सामाजिक सुरक्षाका प्रवन्धहरुका क्षेत्रमा थुप्रै काम हामीले गर्यौं । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरु गर्यौँ । अरु पनि सामाजिक सुरक्षाका कामहरु हामी गर्दै जान्छौँ। अब पनि साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता अझ बढ्छ नै। साउन १ गतेदेखि लागू हुनेगरी बढ्छ । सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुनेगरी बढाइने छ।’  

प्रधानमन्त्री ओलीले सरकारले प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताए। सरकारले गच्छे अनुसार सञ्चार क्षेत्रलाई सहयोग गर्ने पनि बताए। 

अहिले देशमा समस्या पर्यो भन्ने प्रचार गरिएको भन्दै देशलाई र देशको राज्य प्रणालीमा कुनै प्रकारको समस्या नरहेको पनि उनले बताए। संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै प्रकारको समस्या नरहेको स्पष्ट पारे। प्रदेश सरकारहरुलाई केन्द्र सरकारबाट दिइने बजेटमा कहीँ कतै विभेद नभएको पनि बताए । 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको खारेजीको सम्बन्धमा पुनरावलोकनका लागि सर्वोच्च अदालत गएको सन्दर्भ उल्लेख गर्दै उनले पुनरावलोकनमा जानुलाई मजाक गरिएको टिप्पणी गरे। उनले भने, ‘आज पुनरावलोकनका लागि जानु भाछ क्यार। अदालत कुनै मजाक गर्ने ठाउँ हो र ? दर्ता खारेज गरिदियो । पार्टी आफ्ना आफ्ना भइसके।’

प्रधानमन्त्री ओली केही मान्छेहरुको महत्वकांक्षाका कारण राजनीतिक अस्थिरता निम्तिन खोजेको बताए। केही व्यक्तिहरुले आफ्नो निहित स्वार्थका कारण देशको राजनीतिलाई धमिल्याउन खोजेको पनि बताए।

Logo