भूकम्प प्रतिरोधी घरमा तला र कोठा थप्न दिने तयारी

भूकम्प प्रतिरोधी घरमा तला र कोठा थप्न दिने तयारी

केन्द्रबिन्दु
0
Shares

सरकारले भूकम्प प्रतिरोधी घरमा तला तथा कोठा थप गर्न दिने तयारी गरेको छ। भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरूमा लाभग्राहीले कोठा तथा तला थप्न पाउने गरी कार्यविधिको मस्यौदा तयार भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)ले तला र कोठा थप गर्न मिल्नेगरी कार्यविधिको मस्यौदा तयार गरे पनि कार्यान्वयनमा भने ल्याएको छैन।

प्राधिकरणले मस्यौदा तयार भएको र अहिले विभिन्न संघसंस्थासँग मस्यौदाको विषयमा छलफल गर्ने, परामर्श गर्ने काम भइरहेको जनाएको छ । प्राधिकरणका अनुसार अब सरोकारवाला निकाय, विज्ञको सुझाव समेटेर कार्यविधिको आवश्यक संशोधन गरी पारित गरेर कार्यान्वयनमा ल्याइनेछ।

परिवारका सदस्य थपिएको तथा एकतले घर सानो भएको भन्दै सेवाग्राहीले आफूखुसी तला थप्ने, कोठा थप गर्ने क्रम बढेपछि प्राधिकरणले कार्यविधि नै बनाएर यसको हल गर्ने प्रयास गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को प्राविधिक सहयोगमा कार्यविधि तयार गरेको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यविधि कार्यान्वयनको केन्द्रबिन्दु स्थानीय तहलाई बनाउनुपर्ने र सम्बन्धित केन्द्रीय निकायले मेरुदण्डका रूपमा काम गर्नुपर्ने बताएका छन्। सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले आगामी दिनमा बन्ने घर विस्तारका लागि पनि यो कार्यविधि उपयोगी हुने बताएका छन्।

विभिन्न विज्ञहरूले भने पुनर्निर्मित घरमा तला तथा कोठा थप गर्दा पुनः भूकम्पको जोखिम बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । अनिल पोख्रेल, जितेन्द्र बोथरा, विवेक रावल, डा. हरिराम पराजुली, श्याम किशोर सिंह, डा. रमेश गुरागाईंलगायत विज्ञ तथा जानकार व्यक्तिले पुनर्निर्माणको चरणमा लागू गरिएका मापदण्ड, विधि र पद्धतिलाई निरन्तरता दिइएमा मात्रै पुनर्निर्माणको दौरानमा गरिएका प्रयास दिगो हुने बताएका छन् । नयाँ थपिने संरचना निर्माणमा ध्यान पुर्याइएन भने फेरि भूकम्प आउँदा पुरानै नियति बेहोर्नुपर्ने उनीहरू बताउँछन् ।राजधानीबाट

Logo