महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ । महाशाखाले बुधबार एक कार्यक्रमका वीच कोरिडोर सडक व्यवस्थापन टोली (कोरिडोर म्यानेजमेन्ट टिम) परिचालन गरेको हो ।
महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भइ सञ्चालनमा रहेका उपत्यकाको मुख्य कोरिडोरहरु विष्णुमति, बागमती, धोविखोला र मनोहरा कोरिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन योजना लागू भएको हो । आजदेखी करिडोरलाई चौबिस खण्डमा विभाजित गरी कोरिडोर क्लियरेन्सको लागि १७ टोली परिचालन गरेको छ । टोलीले ज्याकेट लगाएर आफनो जिम्मेवार करिडोर सडकमा मोटरसाईकलमा निरन्तर अनुगमन गर्नेछ ।
महाशाखाले कोरिडोर सडकहरुमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शिघ्र ट्राफिक परिचालन तथा अव्यवस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्य सहित छुट्टै डेडिकेटेड टिम परिचालन गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
यो टिमले आम सवारी चालकहरुलाई आफ्नो गन्तब्यसम्म पुग्न छोटो र सहज तरिकाले कोरिडोर सडक प्रयोग गर्न प्रोत्साहन समेत गर्नेछ । मुख्य सडकको चोक जंक्सनको क्युमा बस्नुपर्ने विकल्पको रुपमा कोरिडोर सडक प्रयोग गरी समय तथा ईन्धनको समेत बचत हुने अपेक्षा रहेको एसएसपी भट्टराईले व्यक्त गरे । करिडोर सडकको प्रयोगले मुख्य सडकमा हुने सवारी चापमा कमी ल्याउनुको साथै सवारी आवागमन तथा ट्राफिक व्यवस्थापनमा समेत सहजता प्रदान गर्ने महाशाखाको अपेक्षा छ ।





























प्रतिक्रिया