निजगढ काठमाडौंसँग तराई जोड्ने सबैभन्दा छोटो ७२.५ किलोमिटर द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माण दोस्रो चरणमा प्रवेश गरेको छ। नेपाली सेनाको व्यवस्थापनमा पहिलो चरणअन्तर्गत ‘रोड वे’भित्र कटिङ, फिलिङसहित सबग्रेड फर मेसन, बक्स कल्भर्ट, पाइप कल्भर्ट तथा चट्टानसहित माटोको प्रकृति र भौगर्भिक बनोट परीक्षणपछि निर्माण गति दोस्रो चरणमा लगिने भएको हो।
द्रूतमार्ग अन्तर्गत सुरुङ खण्डमा पर्ने चट्टान तथा माटोको प्रकृति र भौगर्भिक बनोट परीक्षण सकिएपछि सेनाले ठेक्का प्रक्रियामा आएका निर्माण कम्पनीका बोलपत्र प्रक्रिया वैशाखभित्रै सम्पन्न गरेर जेठबाटै निर्माण थाल्ने जनाएको छ। आयोजना कार्यान्वयन तथा अपरेसन प्रमुख प्राविधिक प्रमुख सेनानी विश्वबन्धु पहाडीले द्रूतमार्ग निर्माणमा आवश्यक पहिलो चरणका सबै काम सकिएको जानकारी दिए।
उनका अनुसार दाेस्रो चरणका लागि आवश्यक ठेक्का बन्दोबस्ती प्रक्रिया पूरा गर्ने काम भइरहेको छ । ती सकेर जेठभित्रै सुरुङ निर्माण सुरु गरिने भएको छ । ‘द्रूतमार्ग रोड वेमा कटिङ फिलिङसहितका काम सकियो, सुरुङ खण्डमा पर्ने चट्टान तथा माटो परीक्षण पनि सकिएको छ, अब निर्माण कम्पनीसँगका केही प्रक्रियागत काम सकाएर जेठभित्रै सुरुङ मार्ग निर्माण दोस्रो चरणमा प्रवेश गर्छ, ठूला पुलको काम पनि यो चरणमा सुरु हुन्छ,’ आयोजना कार्यान्वयन तथा अपरेसन महाशाखा प्रमुख पहाडीले भने।
राष्टिय गौरव एवं रणनीतिक मार्गका रूपमा रहेको द्रूतमार्गको सबैभन्दा जटिल काम सुरुङ निर्माण मानिँदै आएको छ। नेपाली सेनाले सडक आयोजनाअन्तर्गत हालसम्म भौतिक प्रगती करीब १२ प्रतिशत भएको बताएको छ । तीनवटै सुरुङको काम सक्दा प्रगती उल्लेख्य बढ्ने जनाइएको छ।
काठमाडौंबाट निजगढसम्म पर्ने द्रूतमार्ग आयोजनामा कुल तीन सुरुङ मार्ग बन्ने छन् । जसअन्तर्गत महादेवटार (३.३५५ किमी), धेद्रे (१.६३ किमी) र लेनडाँडाँमा (१.४३ किमी) सुरुङ निर्माण गर्ने तयारी छ। यी तीन सुरुङको कुल दूरी ६.४१ किलोमिटर रहने छ।
हाल, सुरुङ निर्माणका लागि पूर्वयोग्यता मूल्यांकन गरी कम्पनी छनोटसँगै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान प्रक्रिया अघि बढेकाले यसबीच कुनै व्यवधान नभए चार वर्षभित्र सुरुङ निर्माण सम्पन्न गर्न सकिने सेनाले जनाएको छ। यी तीनवटै सुरुङमार्गमा भित्रने र बाहिरिने दुईमुखे सुरुङ मार्ग हुने छन्।
ती स्थानमा सवारी भित्रने र बाहिरिने ठूला विशेष प्रकारका ९ वटा पुलसमेत एकसाथ बन्ने छन्। स्वीकृत डीपीआर अनुसार द्रूतमार्ग निर्माण अनुमानित लागत १ खर्ब ७५ अर्ब रुपैयाँ छ । यो द्रूतमार्ग निर्माण आर्थिक वर्ष २०८१ मा सम्पन्न गर्ने लक्ष्य छ। २१ वैशाख २०७४ मा सरकारले सेनालाई सो द्रूतमार्ग आयोजना निर्माण जिम्मेवारी दिएको थियो।
तर, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लामो समयसम्म उपलब्ध नहुनु र उपलब्ध भइ सकेपछि पनि स्वीकृती हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाता छनोटमा भएको ढिलाई र कोभिड–१९ का कारण केही समय आशातीत निर्माण कार्य अघि बढ्न नसकेको सेनाले स्वीकारेको छ।
हालसम्म १६ अर्ब ६६ करोड कुल खर्च भएको आयोजना निर्माण कार्य विभिन्न कारण ढिला भए पनि हाल कामले गति लिएको सेनाले जनाएको छ। सेनाले डीपीआर प्राप्त गरेपछिको समयले पनि गणना गर्दै अगामी २०८१ मा कार्य सम्पन्न गर्ने उल्लेख गरेको हो। २१ वैशाख २०७४ मा आयोजना निर्माण व्यवस्थापन जिम्मेवारी सेनालाई दिए पनि सरकारले डीपीआर दुई वर्ष केही महिनापछि अर्थात् १ भदौ २०७६ मा स्वीकृत गरेको थियो।
आयोजना एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुनेछ भने ललितपुर, काठमाडौं, मकवानपुर र बारा गरी ७२.५ किलोमिटर लामो दूरी रहने आयोजनाले बाग्मती र प्रदेश २ गरी चार जिल्ला छुनेछ। सो मार्ग निजगढ अन्तिम बिन्दुका रूपमा प्रस्ताव गरिएको छ। आयोजनाको कुल लम्बाई ७२.५ किमीमध्ये तीन सुरुङमार्गको कुल लम्बाई ६.४१ किमी, विभिन्न पुलको लम्बाई १०.५९ किमी र ढुंगा माटोको कट फिल गर्नुपर्ने सडक खण्डको लम्बाई ५५.५ किमी छ।राजधानीबाट





























प्रतिक्रिया