नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको प्रति राप्रपाका अध्यक्ष कमल थापाले आत्मघातीको संज्ञा दिएका छन्।
आज सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त विकल्प नयाँ चुनाव नै भएको बएका छन्।
कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार बनाउन पहलकदमी थाल्ने निर्णय गरेको भोलिपल्ट अध्यक्ष थापाले यस्तो बताएका हुन्। थापाले भ्रष्ट कम्युनिष्टको एक भंगालोसँग अपवित्र गठबन्धन बनाएर कांग्रेस सरकारमा जान नहुने बरु चुनावमा जानु बुद्धिमानी हुने बताएका छन् ।
उनले भनेका छन् , वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव हो । कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टको एक भंगालोसँग अपवित्र गठबन्धन बनाएर अस्थिरता, भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने कांग्रेसको पछिल्लो चाहना , निर्णय आत्मघाती हुनेछ।
गत चुनावमा जनताले स्थायित्व र समृद्धिका लागि कम्युनिष्टलाई मत दिएका हुन्। नेकपा कुर्सी र पैसाको झगडाले फुट्यो, जनतालाई धोका दियो । त्यही असफल र भ्रष्ट कम्युनिष्टसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेकलाग्दो छ।कम्युनिष्टसँग मिलेर सरकार बनाउँन अस्वीकार गरि कांग्रेस नयाँ चुनावमा जानु पर्छ ।
यता पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले भने नेपाली कांग्रेसले बल्ल प्रतिपक्षीय धर्म निर्वाह गर्ने संकेत देखाएको भन्दै प्रशंंसा गरेका छन्।
कांग्रेसले शुक्रबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठनमा अग्रसरता देखाउने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट आज बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै भट्टराईले कांग्रेसको प्रशंसा गरेका हुन्।
भट्टराईले ओलीको राजीनामा माग्ने कांग्रेसको निर्णयको स्वागत गर्दै भष्मासुर ओलीको बिदाइ नै अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ। अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं। आआफ्ना दलका फरक एजेन्डा हुन्छन्। तर ती सबैभन्दामाथि देश, जनता र लोकतन्त्रको आवश्यकता, प्राथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको बिदाइ नै हो है।’





























प्रतिक्रिया