त्रिभुवन आर्मी क्लबले पाँचाैँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार तेस्रो जीत निकालेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आइतबार भएको खेलमा भरतपुर मेट्रो खेलकुद परिषदलाई ३–० को सेटमा पराजित गर्दै आर्मीले अपराजित यात्रा कायम राखेको हो । तुलनात्मक कमजोर टिम भरतपुरविरुद्ध आर्मीले २५–९, २५–८ र २५–१३ को सेटमा जीत निकाल्यो ।
यस जीतसँगै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ । आर्मीले ३ खेलमा ८ अंक जोडेको छ । भरतपुरको यो लगातार तेस्रो हार हो । आइतबार नै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सेटमा पराजित गरेको थियो।
ढोरपाटनविरुद्ध पुलिसले २५–५, २५–९ र २५–५ को सेटमा जीत निकालेको थियो । पुलिसले पनि ३ खेलमा ८ अंक जोडेको छ । पुलिस तालिकाको दोस्रो स्थानमा रहेको छ ।
पुलिस सेट पोइन्टको आधारमा आर्मीसँग पछि परेको हो । प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।
लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७५ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन्।





























प्रतिक्रिया