नेपाल उद्योग वाणिज्य महासङ्घ र डेभलपमेन्ट बैङ्कर्स एसोसिएशन नेपालबीच लघु, घरेलु, साना तथा मझौला उद्यममा वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ।
महासङ्घका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएशनका प्रथम उपाध्यक्ष प्रद्युम्न पोखरेलको उपस्थितिमा आइतबार समझदारीपत्रमा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेन्ट बैङ्कर्स एसोसिएशन नेपालका अध्यक्ष गोविन्दप्रसाद ढकालबीच हस्ताक्षर भएको हो।
समझदारी अनुसार एसोसिएशनका सदस्य विकास बैंकलाई लघु, घरेलु साना तथा मझौला उद्योगहरूको माग अनुसार सरल एवम् सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायीलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया सहज गरिनेछ।
यस्तै, कर तथा बजार व्यवस्थापन सम्बन्धी जानकारी दिन कार्यक्रम सञ्चालन गर्ने, उत्पादनमूलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसायको प्रवर्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम सञ्चालन गरिनेछ। वित्तीय सेवाहरूको छनौट र प्रयोग गर्न सक्ने क्षमता विकास गराउने र भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्न सहजीकरण गरिनेछ। कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगहरूलाई प्रवाह गरिने कर्जाहरूलाई प्राथमिकतामा राखी प्रविधिमैत्री बनाउने र त्यसका लागि उचित तालीमको व्यवस्था मिलाइने समझदारीमा समावेश छ।
कार्यक्रममा महासङ्घका उपाध्यक्ष श्रेष्ठले साना तथा मझौला व्यवसायले विशेषगरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले सम्बोधन गर्ने विश्वास व्यक्त गरे। मुलुकभित्र कूल रोजगारीमा करीब ९५ प्रतिशत योगदान सो क्षेत्रकै भएकाले यो समझदारीले विशेष सहयोग पुग्ने बताए। डेभलपमेन्ट बैङ्कर्स एसोसिएशन नेपालका अध्यक्ष ढकालले लघु, घरेलु साना तथा मझौला व्यवसायको प्रवर्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायत सेवा प्रवाहमा सहजीकरण गराउने उद्देश्यले समझदारी गरिएको जानकारी दिए।रासस































प्रतिक्रिया