सांसदहरुले समसामयिक राजनीतिक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। संघीय संसद प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक राजनीतिक विषय, संसदको प्रभावकारिता, विकास निर्माण लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद राजबहादुर बुढा क्षेत्रीले जनतामा सदनप्रति विश्वास कायम राख्ने वातावरण मिलाउन राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराए। उनले संसदको अंकगणित र जनताको अभिमतलाई मुलुकको समृद्धि र स्थिरताको पक्षमा मिलाएर लैजानु नै दलहरुको राजनीतिक धर्म कर्म र दायित्व भएको भन्दै त्यसतर्फ सबैको ध्यानाकर्षण गराए।
सांसद रंगमती शाहीले संविधान विपरित संबैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका प्रधानमन्त्रीले महिला हिंसाका विधेयकहरु ल्याउन दिएनन् भनेर ढाँटेको आरोप लगाइन्। उनले संसदले बनाएका प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराएको टिप्पणी गरिन्।
सांसद मोहनप्रसाद पाण्डेले सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरादेखि बुटवलसम्मको सडकखण्ड मर्मत तथा स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराए। उनले शालिकग्राम मार्गका लागि बजेट विनियोजन नगरिएकोमा गुनासो गरे।
यस्तै सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङ दोभानका आगलागी पीडितलाई तत्काल आवास र दैनिक आवश्यकताका भूकम्प पीडित सरहको राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए। सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गरे।
सांसद मेटमणि चौधरीले चुरे संरक्षण हुनु पर्ने भन्दै चुरे दोहन गरि अबैध कारोबारमा संलग्नलाई कारवाही गर्न माग गरे। सांसद मोहन बानियाँले कर्णाली राजमार्गको सुर्खेतदेखि नाग्म सम्मको अधिकांश खण्डमा कालोपत्र बिग्रेर खाल्डाखुल्डी परेको र बर्षासँगै हिलाम्मे हुने भएकाले रारा जाने पर्यटकिय सो मार्गलाई कालोपत्र मर्मत गर्न माग गरे।
यस्तै राजेन्द्रकुमार केसीले मेलम्चीको पानी र्कितिपुरमा नपुगेको भन्दै तत्काल र्कितिपुरबासीलाई पानी वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए। उनले डिपिआर नै नभईकन प्रधानमन्त्रीले १ सय ६५ वटा सडकको शिलान्यास गरेको उल्लेख गर्दै कुन सडकको शिलान्यास भएको हो ? भनेर प्रश्न गरे।
सांसद लक्ष्मी परियारले वर्तमान सरकारले प्रशंसनीय काम गर्न नसकेको धारणा राखिन्। उनले इलाम नगरपालिकाका मेयरले त्यहाँको एउटा दलित बस्ती उजाडेको आरोप पनि लगाइन्।
सांसद भीमसेन दास प्रधानले प्रधानमन्त्रीले संसद चलिरहेका बेला राजनीतिक विषयमा सदनबाहिर धारणा राख्नु गैरजिम्मेवारी, अराजनीतिक र असंबैधानिक चरित्र भएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीलाई सदनमा आएर बोल्न पनि आग्रह गरे।
सांसद भैरवबहादुर सिंहले बझाङका १२ वटा स्थानीय तहमा खडेरी परेको, हिउँदे बाली सुकेको र स्थानीयहरु भोकमरीको चपेटामा परेको भन्दै तत्काल खाद्य आपूर्ति गर्न सरकारसँग माग गरे।
त्यसैगरी शुन्य समयमा बोल्ने अन्य सांसदहरुले १ सय ६५ वटा बाटोहरुको बालुवाटारबाट शिलान्यास भएपनि ती बाटोका डिपिआर पनि नभएको भन्दै सो कार्यमाथि प्रश्न गरेका थिए।





























प्रतिक्रिया