स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् ।
मंगलबार काठमाडौँमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने स्पष्ट पारेका हुन् । उनले लकडाउनभन्दा अगाडी गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताए । लकडाउनले कोभिड नियन्त्रण गर्न सहयाेग गर्ने भएपनि त्यसले सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालिन असर पार्ने भएकाले सरकारले लकडाउन नगर्ने उनकाे जिकिर छ।
छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टीजेन परीक्षण सुरु गरेको पनि मन्त्री त्रिपाठीको भनाइ छ । यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे ।
अहिले विश्वभर ८१ प्रकृतिका खोप विकशीत भइरहेको र त्यसमध्ये १३ वटा खोपहरु प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको उनले उल्लेख गरे । चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबारदेखि सुरु गरिने पनि उनले जानकारी दिए ।





























प्रतिक्रिया