केन्द्रबिन्दु बुलेटिन : संसदमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच दोहोरी (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : संसदमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच दोहोरी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाका गतिविधि र काम कारवाहीलाई प्रभावकारी तुल्याउन सभामुखको विशेष पहल र भूमिका आवश्यक रहेको बताएको छ।

यस्तै प्रतिपक्षदल कांग्रेसका सांसदले सरकार जनता र राष्ट्रको आवश्यकता र प्राथमिकताको विषयमा केन्द्रित हुनुको सट्टा पुराना सडक र ठेक्कै नभएको आयोजनाको उद्घाटन र शिलान्यासमा ध्यान केन्द्रित गरेको आरोप लगाएका छन्। तर, नेकपाका सांसदले भने प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ देखाउने काम नगर्न प्रतिपक्षी दललाई आग्रह गरेका छन्। यसैबीच आजै नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका ४ जना मन्त्रीहरुको सांसद पद खारेज भएको सभामुखले जानकारी गराएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सेचत बन्न आग्रह गरेका हुन् । फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले उद्योग व्यवासयलाई सरकारले दिने सेवामा एकद्धार प्रणाली लागू गरिएको बताएका छन् । 

निजगढ काठमाडौंसँग तराई जोड्ने सबैभन्दा छोटो ७२.५ किलोमिटर द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माण दोस्रो चरणमा प्रवेश गरेको छ। नेपाली सेनाको व्यवस्थापनमा पहिलो चरणअन्तर्गत ‘रोड वे’भित्र कटिङ, फिलिङसहित सबग्रेड फर मेसन, बक्स कल्भर्ट, पाइप कल्भर्ट तथा चट्टानसहित माटोको प्रकृति र भौगर्भिक बनोट परीक्षणपछि निर्माण गति दोस्रो चरणमा लगिने भएको हो। त्यसका लागि काठमाडौंबाट निजगढसम्म पर्ने द्रूतमार्ग आयोजनामा कुल तीन सुरुङ मार्ग बन्नेछन् । 

कोरोना भाइरसविरुद्धको अस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एकदमै दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने युरोपेली सङ्घमा औषधीहरूको नियमन गर्ने निकायले जनाएको छ। युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिका जोखिमभन्दा फाइदा बढी रहेको निष्कर्ष निकालेको हो। तर रगत जमेको अधिकांश अवस्था ६० वर्ष मुनिका महिलाहरूमा देखिएको बताइएको छ। 

न्यु डाईमण्ड स्पोर्ट्स क्लबले पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको अन्तिम खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै न्यु डाईमण्डले उपाधि जितेको हो । त्यस्तै पुरुषतर्फको हेल्प नेपाल क्लबले जितेको छ । 

Logo