केन्द्रबिन्दु बुलेटिन : २५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : २५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ। कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो। शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको जानकारी दिएका छन्।

नयाँ सत्ता समीकरणका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलीय बैठक सकिएको छ। देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकपछि कांग्रेस र माओवादी केन्द्रका नेताहरुले आजको छलफल सकरात्मक भएको र जसपाको निर्णय पर्खने सहमति भएको बताएका छन्। बैठकपछि संवाददाताहरुसँग कुरा गर्दै जसपा नेता महन्थ ठाकुरले आफूहरुसक्षम पहिलो पटक सरकार बदल्ने औपचारिक प्रस्ताव आएको र यस विषयमा पार्टीमा छलफल गरेर निर्णय गर्ने कुरा बैठकमा राखेको बताए।

दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुकुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन्। दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुकको सूचीबाट हटाएर संवेदनशील मुलुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी जान पाउने भएका हुन्। दक्षिण कोरिया सरकार अन्तर्गतको मानव संसाधन विभाग (एचआरडी) ले सन् २०२१ का लागि ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले दल परिवर्तनका कारण सांसद पदबाट हटाइएका चार जना मन्त्रीहरुलाई पुनः मन्त्री पदमा नियुक्त गरेका छन्। संविधानको धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदबाट हटाइएका चार मन्त्रीहरूलाई मन्त्री पदमा नियुक्ति गरेका हुन्। त्यस्तै सरकारले विदेशका विभिन्न विद्यालयमा कक्षा १२ सम्म नेपाली पाठ्यक्रम अनुसार सञ्चालन गर्न पाइने निर्णय पनि गरेको छ। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली अधिनायकवादी शैलीको रुपमा देखापरेको भन्दै सत्ता कब्जा गर्ने अभियानमा लागेको आरोप लगाएका छन्। नेपाली कांग्रेस निकटस्थ निजामती कर्मचारी युनियनद्वारा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो आरोप लगाएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले प्रजातन्त्र नै संकटमा परेकाले चुनावभन्दा प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिए। यसैगरी कांग्रेसका युवा नेता गगन थापाले विगतमा आशंका गरिएकै बाटोमा नेपालको राजनीति अगाडि बढेको भन्दै त्यस विरुद्ध कांग्रेस उभिनुपर्नेमा जोड दिए। 

Logo