केन्द्रबिन्दु बुलेटिन: कुखुराको मासुको मूल्य अहिलेसम्मकै महँगाे (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन: कुखुराको मासुको मूल्य अहिलेसम्मकै महँगाे (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये नेपालमा कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। जसमा ब्रोइलर कुखुराकै खुद्रा मूल्य ४१० रुपैयाँ तोकिएको हो। एक वर्ष अघिको लगडाउनको प्रभाव बजारमा हाल देखा पर्दा मासुको मूल्य उच्च भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ। यसअघि असोजमा ब्रोइलर कुखुराको मासुको मूल्य पछिल्लो तीन वर्षयताकै सबैभन्दा कम २०५ रुपैयाँमा झरेको थियो ।

नेपाली सेनाको परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली सैनिक मञ्च टुँडिखेल पुगेर सेनाले आयोजना गरेको अश्वकला र साइकल खेल लगायतका प्रदर्शनी अवलोकन गरेका थिए । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइने प्रचलन रही आएको छ ।

प्रधानमन्त्री विरुद्ध उभिन दबाब बढेपछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ । आइतबार काठमाडौँमा रहेका जसपा पदाधिकारीले बिहिबार भएको ३ दलबीचको वार्ताबारे  छलफल गर्न थालेका हुन् । शुक्रबार सत्ता समीकरणका विषयमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँगको छलफलपछि आन्तरिक छलफलबिना निर्णय नलिने अडान लिएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठिक विपरीत देखिएको छ । आइतबार अपरान्ह काठमाडौँ भित्रिने पश्चिमी नाका नागढुङ्गा र पूर्वी नाका साँगा भञ्ज्याङमा कुनै पनि सुरक्षा सावधानी, चेकजाँच नभएको देखिएको हो । उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन आह्वान गरिसकेको छ ।

म्यान्मारमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा दमन हुँदा एकैदिन ८० जनाभन्दा बढी मानिसको मृत्यु भएको अभियानकर्मीहरूले बताएका छन्। मृतकहरूको शव सेनाले लिएर गएको र ज्यान गुमाउनेको स्पष्ट संख्या अहिलेसम्म थाहा हुन नसकेको पनि उल्लेख गरिएको छ। प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको सञ्चारमाध्यमले जनाएका छन्।

Logo