उत्पादित वस्तुको बजारीकरणका लागि सरकारले अध्ययन सुरु गरेको छ : मन्त्री अर्याल

उत्पादित वस्तुको बजारीकरणका लागि सरकारले अध्ययन सुरु गरेको छ : मन्त्री अर्याल

केन्द्रबिन्दु
0
Shares

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि सरकारले अध्ययन सुरु गरेको बताइन्। 

हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तर्गत स्याउ जोन मुस्ताङले जिल्लाभित्रका कृषकहरुलाई हाइब्रीड स्याउका बिरुवा वितरण गर्ने कार्यक्रमको सोमबार शुभारम्भ गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

स्याउको नर्सरी बनाउनका लागि बजेट तथा कार्यक्रम स्वीकृत भइ सकेकोले आगामी दिनमा स्याउ कृषकलाई विरुवाको अभाव नखड्कीने मन्त्री अर्यालले बताइन्। जिल्लाभित्रका प्रतिनिधिहरुले आफ्नो भूमिका उत्कृष्ट तवरले निर्वाह गरेको बताउँदै मन्त्री अर्यालले आगामी दिनमा जिल्ला कृषि तथा पशुपंक्षीको उत्पादकत्व बढाउने कार्यका लागि आफ्नो उपस्थिति र भूमिका मजबुत बनाउन आग्रह गरिन्।

स्याउ जोन जोमसोमले युरोपियन मुलुक इटालीबाट ल्याएर हाइडेन्सीटी स्याउका विरुवा वितरण गर्न लागेको स्याउ जोनका वरिष्ठ कृषि अधिकृत सुधीर थापाले बताइन्। ९ हजार २ सय ३० विरुवा वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा सोमबार ६ हजार २ सय ४० विरुवा वितरण गर्न लागिएको वरिष्ठ अधिकृत थापाले बताए।

जिल्लाभित्रका विभिन्न १५ वटा सहकारी तथा समूहले स्याउका विरुवा माग गरेकाले स्याउ जोन मुस्ताङमार्फत गोल्डेन डेलिसियस, गाला, फुजी र रेड डेलिसियस जातका विरुवा ल्याएर वितरण गरिएको हो। नेपालमा विरुवा उत्पादन नभएको हुनाले हाइडेन्सीटी स्याउ एक मिटरको दुरीमा लगाउन मिल्ने र उत्पादन बढी दिने भएकाले पनि मुस्ताङमा यो स्याउ उत्कृष्ट हुने थापाले बताए। 

संघिय सरकारको बजेट अनुरुप ५० प्रतिशत अनुदानमा वितरण गरिएको उक्त स्याउको विरुवा जोमसोम आइपुग्दा प्रतिबोट एक हजार १ सय ७० रुपैंयाँ खर्च लागेको छ। संघिय सरकारको बजेटमा मुस्ताङ जिल्लाभित्र २ करोड ६० लाखमा स्याउको विरुवा वितरण, नर्सरी, साना सिंचाई लगायतका कार्यक्रम सञ्चालन हुने प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तर्गत स्याउ जोन मुस्ताङका वरिष्ठ कृषि अधिकृत सुधिर थापाले बताए ।

Logo