नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन्।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेता नेपाल सच्चिनु पर्नेमा जोड दिएका हुन्। माधव नेपालजी आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना गर्नुस्, कार्यक्रममा प्रधानमन्त्री ओलीले भने। तर, नेता नेपाल पार्टीलाई ध्वस्त पार्न अग्रसर भएमा, उनलाई ठीक पार्न पनि आफू पछि नपर्ने ओलीले चेतावनी दिए।
यस्तै प्रधानमन्त्री ओलीले आफूसँग संसदमा बहुमत रहेकाले राजीनामा नदिने पनि दोहोर्याएका छन्। उनले कार्यक्रममा आफूलाई प्रधानमन्त्रीबाट हटाउन मन भए समर्थन फिर्ता लिनसमेत प्रतिपक्षी दल तथा सत्ता साझेदारीमा रहेको दल माओवादी केन्द्रलाई चुनौती दिएका छन्। उनले आफूसँग बहुमत रहेको जिकिर गर्दै हटाउन मन भए सहमति फिर्ता लिन चुनौती दिएका छन्।
आफू समर्थन फिर्ता लिएर केही गर्न नसक्ने तर राजीनामा माग्ने प्रचण्डको शैली हरुवा अभिव्यक्ति भएको भन्दै ओलीले माओवादीको समर्थन आफूलाई नचाहिएको प्रष्ट पारे। प्रधानमन्त्री ओलीले प्रचण्डले समर्थन फिर्ता नलिई कांग्रेस र जसपा गुहार्दै हिँडेको र उनै प्रचण्डलाई एमालेकै माधव नेपाल पक्षले साथ दिइरहेको आरोपसमेत लगाए। उनले कसैको धाक धक्कुसँग आफू नडराउनेसमेत स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापनाले राजनीतिक अस्थिरता ल्याएको र संसदले काम गर्न नसक्ने अवस्था सृजना भएको बताए। अदालतको फैसला आफूहरूले माने पनि यो संसदबाट पार नलाग्ने र नयाँ सरकार पनि बन्ने अवस्था नरहेको दावीसमेत गरे।
कार्यक्रममा प्रतिपक्षी दल कांग्रेसका नेताहरू पनि संसद विघटनको विकल्प छैन भनेर चुनावको पक्षमा उभिएको भन्दै ओलीले माओवादी र माधव नेपालहरू चुनावबाट भागिरहेको आरोप पनि लगाए।





























प्रतिक्रिया