प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिएका छन्।
नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू विरुद्धका सबै विरोध र टिकाटिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिएका हुन्। उनले पार्टीलाई ध्वस्त पार्ने प्रयास भयो भने “ठिक लगाउने” चेतावनी दिए।
ओलीले नेपाल समूहले आफूलाई गरेको कारवाही ‘किर्नाले भैंसी खाए‘ जस्तो भएको भनी व्यंग्य गरे। प्रधानमन्त्री ओलीले बहुमतको सरकारको नेतृत्व गरेकाले आफूले राजीनामा नदिने उल्लेख गर्दे समर्थन फिर्ता लिन चुनौती दिए। उनले आफूलाई कसैको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान भने।
उनले भने, “प्यादाले मन्त्री खान्छ चेसमा। भुसुना, लामखुट्टेले हात्ती खान्छ। उपियाँले मान्छे खान्छ। कति खान्छ ? तीनीहरुले कम्युनिष्ट आन्दोलन खान्छु भनेको त्यही हो । उपियाँले मान्छे खाए जस्तो। किर्नाले भैंसी खाँदैन। किर्नाले भैंसी खान्छ नि। किर्नाले भैंसी खाएको देख्नुभएको छ कि छैन ? यीनीहरुले गरेको हामीलाई कारवाही त्यस्तै हो। किर्नाले भैंसी खाए जस्तै। तर किर्ना किर्नाकै ठाउँमा हुन्छ। भैंसी भैंसीकै ठाउँमा हुन्छ। सन्तोष गर्न पाईन्छ किर्नाले भैंसी खाएकै हो। भैंसी खायो खायो खायो, पुटुक्क भयो किर्नु फुत्रुक्क झर्यो। मजाले भैंसी खायो, पुटुक्क भयो, फुत्रुक्क झर्यो। कति रोएका ? राजीनामा देऊ राजीनामा देऊ । हटाउन न । हटाउ, समर्थन किन गरिरहन्छौ ? फिर्ता लैजाउ। केही पनि गर्न नसक्ने राजीनामा देउ राजीनामा देउ । म सँग बहुमत छ। बहुमतको सरकार छ। म किन राजीनामा दिन्छु ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लिऊ। लैजाउँ। चाहिएको छैन तिम्रो समर्थन। लैजाउ। ”
प्रधानमन्त्री ओलीले आफैं सांसद बन्न नसक्ने हैसियतमा पुगेका नेता नेपालले टिकट दिन्छु भन्ने गरेको भन्दै व्यंग्य गरे।
उनले भने, “कांग्रेसकोमा जान्छन् रुन कराउन। अनि जसपाका जान्छन्। अनि हल्ला फैलाउँछन्। केपी ओलीले टिकट दिएन भने चिन्ता नगर्नुहोस्। म दिन्छु टिकट । टिकट त बसपार्कमा बाडेको बाढेकै छ त। माधव नेपालले टिकट बाढ्न सक्नुहुन्छ ? अब सांसद एक जना पनि बनाउन सक्नु हुन्न । आफैं बन्नुहुन्न अर्कालाई के बनाउनुहुन्छ ?”
प्रधानमन्त्री ओलीले अपराधपूर्ण क्रियाकलापको क्षमायाचना गरे माधवकुमार नेपाललाई पार्टीमा काम गर्न दिइने भन्दै फर्किन आव्हान गरे। उनले पार्टीमा रहेर काम गर्न दिइने तर गुटबन्दी गर्ने छुट नदिने चेतावनी दिए।





























प्रतिक्रिया