प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरुले आफ्नो सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको आरोप लगाएका छन्।
बुधबार काठमाडौंमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेहरुले सत्ता कब्जा गर्नका लागि आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको आरोप लगाएका हुन्। संविधान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका इच्छा र आकांक्षा पुरा हुन नसकेकाले त्यस्ता मान्छेहरुले प्रतिगमन भयो भनेर हल्ला चलाउने काम गरेको बताए। अहिलेको व्यवस्था र व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्रै प्रतिगमन हुने पनि उनले बताए।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले लुटपाट गरेर भएपनि सरकारमा पुग्ने चाहना पूरा नहुँदा प्रतिगमन नहुने बताए। आफूले ध्वस्त पार्न खोज्ने र ध्वस्त पार्न नसकेपछि प्रतिगमनको हल्ला चलाउने काम भएको पनि बताए।
आफ्नो पार्टी तोडफोड गरेर अर्को पार्टीलाई प्रधानमन्त्री भइदिनुहोस् भन्दै हिंडनेहरुले क्रान्तिका कुरा गर्न नसुहाउने पनि प्रधानमन्त्री ओलीले बताए। सरकारले गरेको परिवर्तन, स्थायित्व, अग्रमन, विकासको लहर सबै कुराहरुलाई जनताले बुझ्ने प्रयास गरिराखेको पनि बताए।
हिजोका पीडा, घाउ र समस्याको सम्बोधन गर्न विकासका कामहरुलाई तिब्र गतिमा अगाडि बढाइएको पनि उनले बताए। प्रधानमन्त्री ओलीले देशका लागि गरिएको बलिदानको सम्मान, त्यागको सम्मान र अत्यन्त पीडादायक भोगाईको सम्मान गरिएको बताए। सहिद परिवार र घाइतेहरुलाई आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने कामहरु के के हुन् सरकारको ध्यानाकर्षण भएको पनि बताए।
सहिदका परिवारको सामाजिक सुरक्षा, रोजगारी र बालबालिकाहरुको शिक्षादिक्षाको सम्बन्धमा सरकारले सम्बोधन गर्ने पनि बताए। यस्तै कुनै घाइते व्यक्तिको निरन्तर उपचारको आवश्यकता छ भने सरकारले ध्यान दिने पनि बताए।
सहिदका परिवार आवास विहिनको अवस्थामा छन् भने आवासको उपलब्ध गराउन, जमिन उपलब्ध गराउने व्यवस्था कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा सरकारले सोचिरहेको पनि जानकारी दिए। यस्तै कहिल्यै केही कुटाई नखाएका, जेल नबसी क्रान्तिकारी कुरा गर्नेहरुले सहिद परिवारका दुःख, घाइतेहरुका दुःख नबुझ्ने पनि उनले बताए।
दशकौं लामो समय जेल बस्दाको पीडा आफूले भोगेकाले पीडा कस्तो हुन्छ, आँसुको महत्व कस्तो हुन्छ, यातना र दमन कस्तो हुन्छ भन्ने कुरा आफूले भोगेको पनि बताए।
तत्कालिन समयमा माओवादीले हिंसात्मक आन्दोलन सञ्चालन गर्दा समेत आफूले विरोध गरेको उल्लेख गर्दै हिंसात्मक आन्दोलनले कहिं पुगिंदैन भन्ने कुरा अडानका साथ राखेको पनि बताए। हिंसात्मक आन्दोलनबाट नागरिकले दुःख पाउने बाहेक केही हुन नसकेको पनि बताए।
अहिले नागरिकका लागि विकास आवश्यक भएको र विकासको प्रतिफल सबैको पहुँचमा हुनुपर्ने बताए। आफ्नो अधिकार, न्याय, जीवन लगायतका कुनै चिज कसैले पनि खोस्दैन भन्ने स्थिति ल्याउन सरकारले ध्यान दिएको बताए। असमानताको विभेद, भेदभावजन्य कुरा हुन नहुनेतर्फ सरकारले काम गरिरहेको उनको भनाइ थियो ।
सरकारले २०६२/६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएका सहिद परिवार, घाइते तथा आपाङ्गता भएका र बहिर्गमित पूर्व लडाकुहरुलाई ‘लोकतन्त्रका योद्धा’को रुपमा सम्मान गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ८१ जना परिवारलाई प्रमाणपत्र दिएर सम्मान गरेका थिए।





























प्रतिक्रिया