संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै सिंहदरबारभित्र कार्यरत नायव सुब्बाहरु आन्दोलित भएका छन्।
संघीय निजामती सेवा ऐनमा कर्मचारीको मनोबल घटाउने खालको व्यवस्था भएको तथा ऐनको व्यवस्था अनुसार नायव सुब्बाहरुमाथि अन्याय भएको भन्दै बिहीबार सिंहदबारभित्र काम गर्ने नायव सुब्बाहरुले सिंहदरबार भित्रै प्रदर्शन गरेका हुन्।
राजपत्र अनङ्कित तृतीय श्रेणीको पदपूर्तिमा ३० प्रतिशत बढुवा कायम गरिनु पर्ने, रिक्त पदहरुमा आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने तथा राजपत्र प्रथम र द्वितीय श्रेणीको खुल्ला विज्ञापनमा राजपत्र अनङ्कित कर्मचारीको अनुभवलाई पनि मान्यता दिनुपर्ने माग आफूहरुको रहेको नायव सुब्बा श्रीराम पौडेलले बताए।
प्रस्तावित निजामती सेवा ऐनले कर्मचारीहरुको मनोबल घटाउने मात्र नभई हित विपरित भएकाले उक्त ऐनको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिएको नायव सुब्बा लक्ष्मीप्रसाद शर्माले बताए। प्रस्तावित ऐनमा कर्मचारीमैत्री निजामति सेवा नभएको समेत बताए।

प्रस्तावित ऐनले कर्मचारीहरुको वृत्तिविकास, सेवा, सुविधा र अवसरहरुलाई कुण्ठित गरिएको आन्दोलनमा सहभागि नायव सुब्बा लक्ष्मण गुरागाईंले बताए। आन्तरिक प्रतिस्पर्धाबाट वृत्तिविकासको बाटो पाउनु पर्ने मागलाई सरकार, संसद र सांसदहरुले सम्बोधन गर्नुपर्ने अर्का नायव सुब्बा सुष्मा थापाले बताइन्।
सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका केही नायव सुब्बाहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। प्रदर्शनकारीहरुले ‘हामी अधिकार भन्दा पनि न्याय माग्न आएका हौँ’, ‘माननीयज्यू नासुको आँसु देख्नुभएन ?’, ‘गिराएर मनोबल, कस्तो खोजेको प्रतिफल ?’, ‘राजपत्र अनङ्कित श्रेणीको कर्मचारीको अनुभवलाई अनुभव मान’ लगायतका प्लेकार्ड बोकेका थिए। यस्तै प्रहरीले नियन्त्रणमा लिन थालेपछि प्रदर्शनकारीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारावाजीसमेत गरेका थिए। माग पुरा नभएसम्म आफूहरुको आन्दोलन जारी रहने नायव सुब्बाहरुले बताएका छन्।





























प्रतिक्रिया