नेपाली कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने कि नदिने भन्ने निर्क्योल गर्न सकेको छैन ।
शुक्रबार दिउँसो दुई बजेदेखि बस्ने प्रदेशसभाको हिउँदे अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै छन् । तर, विपक्षी दलसमेत रहेको कांग्रेस अनिर्णित छ । प्रदेशसभामा कांग्रेसको छ सिट छ ।
कांग्रेस कर्णाली प्रदेशसभाका सचेतक हिमबहादुर शाहीले पार्टी केन्द्रको निर्देशन कुरिरहेको बताए । निर्देशन आएपछि मात्रै विश्वासको पक्षमा कि विपक्षमा मतदान गर्ने वा तटस्थ रहने भन्ने टुङ्गो लाग्ने केन्द्रविन्दुसँग बताए ।
“पार्टी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ, र बैठकले निर्णय गरेअनुसार निर्देशन आउने हो”, शाहीले भने, “बैठकले विकसित राष्ट्रिय राजनीतिक घटनाक्रमलाई मध्यनजर गरेर निर्णय गर्ने अपेक्षा छ ।”
नेपाली कांग्रेसको प्रदेश कार्य समिति छैन । नभएकोले प्रदेश सरकार र प्रदेश संसद्मा पार्टीको भूमिकाबारे निर्णय लिने जिम्मा पार्टी केन्द्रलाई छ ।
त्यही भएर कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने/नदिने भन्ने निर्देशनको पर्खाइमा बस्नु परेको सचेतक शाहीले बताए ।
कर्णाली प्रदेशमा ३९ जना सांसद छन् । त्यसमध्ये एमालेको २०, माओवादी केन्द्रको १३, नेपाली कांग्रेसको ६ र राप्रपाको १ जना सांसद छन् ।
कांग्रेस र राप्रपा दुवै पार्टीले विश्वासको मत दिएमा मुख्यमन्त्री शाहीको सरकारले निरन्तरता पाउने छ । नदिएमा एमालेले ठूलो दलको हैसियतले सरकार बनाउने भएको छ ।





























प्रतिक्रिया