नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठक जारी छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने/नदिने भन्ने विषय टुङ्ग्याउन बैठक बसेको हो।
प्रदेश सांसद अमृता शाहीले संसद् बैठक अगाडि नै विश्वासको मतबारे निर्णय लिइने बताइन्।
“संसद् बैठक अगाडि नै हामी के गर्ने भन्ने निर्णय लिन्छौं र त्यसकै लागि हामी बैठकमा छौं”, सांसद शाहीले बताइन्।
मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिन सक्ने चर्चा छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा माओवादीसँग गठनबन्धनमा प्रदेश सरकार गठन गर्ने चर्चाबीच कर्णालीमा शाहीलाई विश्वासको मत दिन सक्ने चर्चा चलेको हो।
त्यहाँका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पनि मुख्यमन्त्री शाहीले विश्वासको मत पाउने दावी गरेकी छिन्।
तर कांग्रेसले शाहीलाई विश्वासको मत दिएपनि सरकार भने जोगिने अवस्था छैन। किनभने राप्रपा तटस्थ बस्ने भएको छ। प्रदेश संसद्मा उसको एक सिट छ।
एमाले एक्लैको सरकार गठन गर्न आवश्यक बहुमत २० सिट छ। माओवादी र कांग्रेस दुवैको जोड्दा पनि १९ मत मात्रै पुग्छ।





























प्रतिक्रिया