हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता अनुमोदनका अघि बढाउन दलहरूको साथ मागेका छन्। बैठकमा प्रधानमन्त्रीले सभामुख अग्निप्रसाद सापकोटालाई अराजक र अनैतिक काम गरेको आरोपसमेत लगाएका छन्। यस्तै बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीकोे एमसीसीलाई अघि बढाउन सहयोग गर्ने प्रस्ताव केही दलबाहेक अन्य दलले सकारात्मक रहेको जानकारी दिए।
गत फेब्रुवरी १ बाट हिंसात्मक घटना व्यहोरिरहेको म्यानमारमा परम्परागत बुद्ध धर्माबलम्बीहरुको नयाँ बर्षको अवसरमा २३ हजार बन्दी रिहा हुने भएका छन्। त्यहाँको जुन्ता सरकार अर्थात् सैनिक सराकारले हजारौं बन्दीहरू मध्ये केहीलाई रिहा गर्ने तयारी गरेको हो। म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि अहिलेसम्म हजारौं गिरफ्तार भएका छन् भने सयौँ घाइते भएका छन्। त्यसैगरी सात सय भन्दा बढीको मृत्यु भएको जनाइएको छ।
एमाले कार्यकताले आफूलाई नेता मान्न थालेपछि ओली पक्षले पार्टी विभाजन गर्ने अभियान चलाएर क्लाइमेक्समा पुर्याएको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दावी गरेका छन्। उनले शहरबजारमा जाली फटाहाहरुले प्रचण्डको आकर्षण सकियो, अब माओवादी सिद्धियो भनेर हल्ला चलाए पनि गाउँघरतिर त्यस्तो नरहेको समेत बताएका छन्। अध्यक्ष प्रचण्डले प्रदेशसँगै केन्द्रको राजनैतिक अन्योलता र अराजकताको स्थिति अन्त्य गर्नका लागि ओलीविरुद्ध केन्द्रीय स्तरमै मोर्चाबन्दीको प्रयास भइरहेको जानकारी समेत दिए।
त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उद्घाटन नेपालले सुखद सुरुवात गरेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजीत गर्दै सुखद सुरुवात गरेको हो। नेपालको जीतमा क्रिकेटर कुशल र आसिफले अर्धशतकीय इनिङ्स खेलेका थिए।
कोभिड १९ व्यवस्थापन केन्द्र सीसीएमसीले कोभिड महामारीबाट जोगिनका लागि स्वास्थ्य सर्तकताका मापदण्डलाई कडाईका साथ पालना गर्ने र आवश्यक जनचेतना फैलाउने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको छ। यस्तै बैठकले विद्यालय खोल्ने वा बन्द गर्ने भन्ने सन्दर्भमा संक्रमणको जोखिम र फैलावटको स्थिति हेरेर मन्त्रिपरिषद्ले निर्णय गर्नेछ।





























प्रतिक्रिया