भारतीय व्यापारी बसेको अपार्टमेन्टको फ्ल्याटमा थियो २३ किलो सुन

भारतीय व्यापारी बसेको अपार्टमेन्टको फ्ल्याटमा थियो २३ किलो सुन

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ।

भन्सार क्लियरिङ एजेन्टको काम गर्ने एक भारतीय व्यापारीको वीरगन्जस्थित कोठाबाट शनिबार प्रहरीले २३ किलोभन्दा बढी सुन बरामद गरेको छ।

वीरगन्ज महानगरपालिका–५ स्थित रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्ल्याटबाट प्रहरीले २२ किलो पाँच सय ७६ ग्राम सुनको बिस्कुट, सोसँगै रहेको ६ सय ८१ ग्राम सुनको गहना र २ किलो २ सय ६२ ग्राम चाँदीका भाडा बरामद गरेको हो। बरामद गरिएको सुनको बजार मुल्य १८ करोड ९२ लाख रहेको छ।

सुन बरामद गरिएको फ्ल्याट भारतीय व्यवसायी अशोक सिंहाको हो। सिंहा भारतबाट नेपाल भित्रिने सामानको भन्सार क्लियरिङ एजेन्ट हुन् । उनी गणेश अपार्टमेन्टको तेस्रो तल्लामा रहेको ३०३ नम्बर फ्ल्याट लिएर बस्दै आएका थिए । उनकै फ्ल्याटभित्र दराजमा सजाएर राखेको अवस्थामा प्रहरीले सुन र चाँदी बरामद गरेको हो।

सिंहाको फ्ल्याटमा सुन रहेको सूचना प्रहरीले केही दिन अघि नै पाएको थियो । सूचनाको आधारमा निगरानी बढाइरहेको प्रहरीले शनिबार दिउसो खानतलासी गरेको हो।

सिंहाको फ्ल्याट खानतलासी गर्न पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तको नेतृत्वमा प्रहरी टोली गणेश अपार्टमेन्ट पुगेको थियो। प्रहरीले शुक्रबार राति नै सिंहाको फ्ल्याटमा छापामार गर्ने तयारी गरेको थियो । तर राति अबेरसम्म सिंहा कोठामा नआएपछि प्रहरी रोकिन पुगेको हो।

राति नै अपार्टमेन्ट क्षेत्रलाई निगरानीमा राखेर प्रहरीले सिंहा कोठामा आउने प्रतिक्षा गरिरहेको थियो। सिंहा राति नआएपछि प्रहरीले दिउसो जनप्रतिनिधि र स्थानीयको रोहबरमा कोठा खानतलासी गरेको हो। सुन बरामद गरेको केही घण्टामै प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो।अन्नपूर्णबाट

Logo