हरेक व्यक्तिको भविष्यमा केही न केही बन्छु भन्ने लक्ष्य हुन्छ। सबै लक्ष्य पूरा हुन्छन् भन्ने पनि हुँदैन।
आफूले तय गरेको उद्देश्य पूरा भएन भने चुपचाप बसेर हुँदैन। नयाँ गोरेटो पहिल्याएर अगाडि बढेमा पक्कै सफलता हात लाग्छ।
अनेक समस्यासँग पौठेजोरी खेल्दै आफ्नो ‘प्रोफेसनल करिअर’मा सफलता हात पारेकी पात्र हुन्–उषा खतिवडा। उनले एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को हैसियतमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छन्।
उषाको सानैदेखिको लक्ष्य थियो, डाक्टर बन्ने। एसएलसीपछि उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरिन्। तर, डाक्टर बन्ने लक्ष्यमा अगाडि बढ्न आर्थिक चुनौती थियो उनका लागि। त्यही भएर उनले आइएस्सीपछि उनले ‘फ्याकल्टी’ परिवर्तन गरिन्।
‘मध्यम परिवारमा जन्मिएँ। डाक्टरी पढाउन परिवारको आर्थिक सामथ्र्य थिएन,’ विगत सम्झेर उनी भावुक बनिन् । त्यसबेला सरकारी छात्रवृत्तिका लागि धेरै प्रतिस्पर्धा हुन्थ्यो। त्यसको ‘क्राइटेरिया’ पनि निकै जटिल भएकाले उनका लागि छात्रवृत्तिको अवसर जुरेन।
पूर्वीय दर्शनले भन्छ–हरेक मानिस जन्मिँदै आफ्नो कर्म लिएर आउँछ। अचेल उषालाई लाग्छ–शायद म त्यो (डाक्टरी पढ्ने) उद्देश्य लिएर जन्मिएको थिइनँ होला।’
जीवन–यात्राका क्रममा कतै सफलता मिलिहाल्छ कि भनेर उषाले विभिन्न क्षेत्रमा हात हालिन्। तर, सबै क्षेत्रमा स्थापित बन्न कहाँ सजिलो छ र!
दुई दशकभन्दा बढी ‘प्रोफेसनल करिअर’सहितको उनकोे अनुभवले भन्छ–सपना सपनामै मात्र सीमित भए पनि जीवनमा हरेस खानु हुँदैन। एक दिन अवश्य लक्ष्य भेटिन्छ।’ अथक मेहनत र निरन्तरताले आफू अहिलेको स्थानमा आएको उनले सुनाइन्।
काठमाडौंमै बित्यो बाल्यकाल
सिन्धुपाल्चोकको भोटेचौरमा जन्मिएकी उषाको बाल्यकाल काठमाडौंमै बित्यो। उनका बुबा शिक्षक र आमा चाहिँ गृहणी।
सन्तानका लागि बुबा–आमा पहिलो गुरु भनिन्छ। बुबालाई पहिलो शैक्षिक गुरुका रूपमा स्मरण गर्छिन् उनी। ‘बुबाले कक्षा ४ सम्म घरमै पढाउनुभयो। त्यसपछि कक्षा ५ देखि चाहिँ विद्यालय भर्ना भएँ,’ उनले भनिन्।
विद्यालय जाँदाको रमाइलो पल उनले सुनाइन्। ‘विद्यालयको अनुभव थिएन, कक्षाकोठा बाहिरबाट शिक्षकले पढाइरहेकै बेलामा बिनाअनुमति म भित्र जान्थेँ। त्यसपछि साथीहरू गललल् हाँस्थे,’ उनले बताइन्। बिस्तारै विद्यालयको बातावरणमा घुलमिल भइन्। कक्षा ६ मा सबैलाई उछिन्दै उनी प्रथम भइन्।
काठमाडौंको दक्षिणढोकास्थित मनकामना अंग्रेजी सेकेन्डरी स्कुलबाट एसएलसी पास गरिन्। त्यसपछि उनले अमृत साइन्स कलेजबाट आइएस्सी गरिन्। सानैदेखि आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ भन्ने सोच थियो उनको। त्यही भएर आफू पढ्दै र बालबालिकालाई पनि पढाउँदै उनी अगाडि बढिन्।
सेहन्सा होटलबाट जागिर सुरु
जीवनका आवश्यकता परिपूर्ति गर्न पढाइसँगै जागिर खानुपर्ने बाध्यता थियो उनलाई। उनले अनेक ठाउँमा काम खोजिन्। भन्नेबित्तिकै कहाँ काम पाइन्थ्यो र! उनले पत्रपत्रिकामा विज्ञापन हेर्दै आवेदन दिइन्।
उषाको सानैदेखिको लक्ष्य थियो, डाक्टर बन्ने। एसएलसीपछि उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरिन्। तर, डाक्टर बन्ने लक्ष्यमा अगाडि बढ्न आर्थिक चुनौती थियो उनका लागि।
२०५७ सालमा पहिलोपटक सेहन्सा होटलमा उनले जागिर सुरु गरिन्। अन्य प्रतिस्पर्धीलाई उछिनेर सेहन्सामा जागिर पाउँदा औंधी खुसी भएकी थिइन् उनी। ‘त्यसपछि अध्ययन र कामलाई सँगै अगाडि बढाएँ। कति दिन त खाना खाने समयसमेत नभएर क्यापम्सबाट सिधै काममा जान्थेँ,’ उनले भनिन्। सेहेन्सामा चार वर्ष काम गरिन् उनले। त्यही बीचमा उनले स्नातक तह पनि सिध्याइन्।
उषाको सानैदेखिको लक्ष्य थियो, डाक्टर बन्ने। एसएलसीपछि उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरिन्। तर, डाक्टर बन्ने लक्ष्यमा अगाडि बढ्न आर्थिक चुनौती थियो उनका लागि।
उनलाई कार्यक्रम सञ्चालन गर्न मन पथ्र्यो, त्यही भएर उनले रेडियो एचबिसी ९४ एफएममा कार्यक्रम सञ्चालक भएर पनि काम गरिन्।
उनले सन् २००५ मा सानिमा हाइड्रोपावर प्राइभेट लिमिटेडमा एचआर अफिसरका रूपमा काम सुरु गरिन्। सन् २००८ मा सानिमा माई हाइड्रोपावर लिमिटेडमा सिनिअर एचआर एन्ड एडमिन अफिसरका रुपमा कार्यरत रहिन्।
सन् २०१२ मा तत्कालीन एनआरएन इन्भेस्टमेन्ट लिमिटेडमा चिफ अपरेटिङ अफिसरका रूपमा कम्पनीलाई अगाडि बढाउन उल्लेख्य योगदान दिइन्। उक्त कम्पनीमा उनले करिब ६ वर्ष काम गरिन्। त्यसपछि सन् २०१७ मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा एचआर म्यानेजरका रुपमा कार्यरत रहँदा विभिन्न शाखा सञ्जाल विस्तार एवं मानव स्रोत विकास गर्न उल्लेख्य योगदान दिइन्।

सानिमा लाइफ इन्स्योरेन्समा काम गर्दागर्दै सन् २०१९ मा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का रूपमा काम गर्ने अवसर पाएको उनी बताउँछिन्।
हाइड्रोपावर र विभिन्न प्रशासनिक क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव छ उनको। २१ वर्षको करिअरमा ६ भन्दा बढी संस्थामा विभिन्न पेसामा आबद्ध रहेर विभिन्न अनुभव समेट्दै निरन्तर अगाडि बढेकी उनले हालको समयमा संघर्षसँगै सफलता पनि हाँसिल गरिसकेकी छन्।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीमा आबद्ध
उनले सन् २०१९ मा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का रूपमा जिम्मेवारी सम्हालेकी हुन्। ‘गैरआवासीय नेपालीकोे पुँजी र सीप नेपालको सर्वाङ्गीण विकासमा लगाउने उद्देश्यले स्थापित कम्पनी भएकाले मेरा लागि नयाँ अवसर थियो,’ उनले भनिन्।
एनआरएनको लगानी रहेको सानिमा हाइड्रो, सानिमा माई हाइड्रोमा काम गरेकोे अनुभव थियो उनीसँग। सानिमा माई हाइड्रोमा काम गर्दा प्रोमोटरहरूसँग समन्वय गर्दै काम गरेको अनुभव अनि जलविद्युत क्षेत्रको अनुभव भएकाले तत्कालीन गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष एवं एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीका अध्यक्ष जीवा लामिछानेले कम्पनीको सिइओ बन्न प्रस्ताव गर्दा आफूलाई खुसीका साथै चुनौती पनि महसुस भएको उनी सम्झिन्छिन्।
हाइड्रोपावरसम्बन्धी अनुभव, व्यवस्थापन गर्नसक्ने क्षमता, रेगुलेटरी संस्थासँग समन्वय गर्नसक्ने क्षमता तथा विषयवस्तु राम्रो बुझेकाले उनी कम्पनीमा सिइओ लागि योग्य भएकी हुन्। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको अधिकांश लगानी अहिले हाइड्रोपावर क्षेत्रमा रहेको छ।
दक्षता, कार्यक्षमता, अनुभव र योग्यताका आधारमा उनी सिइओका लागि योग्य बनेकी हुन्। प्रमुख कार्यकारी अधिकृत भएपछि उनले पब्लिकमा शेयर जारी गरी कम्पनीलाई लिस्टेड कम्पनीका रुपमा रुपान्तरण गरिसकेकी छन्।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले २०७७ साल भदौ १० देखि लिस्टेड कम्पनीको रुपमा निरन्तर कारोबारलाई अगाडि बढाइरहेको छ।
अवसरसँगै चुनौती पनि
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सिइओ बन्नु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको उनको बुझाइ छ। ‘धेरै क्षेत्रमा काम गर्ने अवसर पाएँ, हरेक ठाउँमा जिज्ञासु भएर केही सिक्ने चाहना गर्छु, त्यही भएर नयाँ कुरा सिक्न सजिलो हुन्छ,’ उनले भनिन्।
आफ्नो करिअरको धेरै समय उनले हाइड्रोपावर लगायत अन्य क्षेत्रमा बिताएकी छन्। यसले गर्दा पनि प्रतेक क्षेत्रमा निरन्तर काम गर्न र नयाँ कुरा अवसर पहिल्याउँदै अगाडि बढ्न सहज हुन्छ भन्ने विचार छ उनको।
अन्तर्राष्ट्रिय फोरममा प्रतिनिधित्व
उनी पटक–पटक नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा सरिक हुँदै आएकी छन्। अमेरिका , नर्वे, नेदरल्यान्ड, कोरिया, भियतनाम, श्रीलंका, फ्रान्सलगायत मुुलुकमा अन्तर्राष्ट्रिय कन्फेरेन्स र सेमिनारमा नेपालको प्रतिनिधित्व गर्दै जलविद्युुत क्षेत्रबारे प्रस्तुति दिँदै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो र राष्ट्रको छवि उच्च पारेकी छन्। सन् २०२० मा कन्सियस कम्पनी–सोनोमा, १३२५ ब्रोडवे, युएसए सोनोमाले खतिवडालाई वल्र्ड चेन्जिङ वुमन अवार्डबाट सम्मानित गरेको थियो।सन् २०२० मै आरएसटिसिएले खतिवडालाई ‘कर्पोरेट वुमन अफ दि इयर–२०२०’ र ‘मस्ट इन्फ्लुयन्सियल वुमन’ बाट सम्मान गरेको थियो। यस्ता सम्मानले आफूलाई खुसी, हौसला र थप ऊर्जा मिलेको उनले बताइन्।
काम गर्ने क्रममा महिला भएकै कारण आफुलाई त्यस्तो कुनै समस्या नपरेको उनले बताइन्। तर, धेरै महिलाहरूलाई काम गर्न असहज हुने गरेको उनको बुझाइ छ।
कार्यरत कम्पनीको अवस्था
समृद्ध नेपालको अवधारणासहित एनआरएनको टेक्निकल र फाइनान्सियल लगानी मुलुकको दिगो विकास योजनाका लागि भन्ने उद्देश्यले एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सुरु भएको हो।
एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले यो कम्पनीको अवधारणामा अहोरात्र काम गरेका थिए। यो कम्पनी २०६९ साल भदौमा स्थापना भएको हो।
संख्यात्मक र गुणात्मक रुपले वृद्धि हुँदै गएको एनआरएन समुदाय विदेशमा छ। नेपालमा लगानी गर्न खोज्ने गैरआवासीय नेपालीका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनिरहेको छ। अहिले यो प्लेटफर्ममार्फत् थोरै पुँजी भएका लगानीकर्ताहरुले एकीकृत रुपमा आबद्घ भएर विभिन्न आयोजनामा लगानी गर्दै आएका छन्।
अहिले कम्पनीले पाँच ठूला हाइड्रो पावरमा लगानी गरेको छ। यी योजना समयमै सम्पन्न गराउने लक्ष्य रहेको छ। कम्पनीले जारी गरेको आइपीओमा उल्लेख्य रुपमा पब्लिकको संलग्नता रहेको थियो।
उनीहरूको लगानीको उचित प्रतिफल दिने कम्पनीको योजना रहेको छ। अहिले लमजुङको दोर्दी खोला जलविद्युत आयोजना (२७ मेवा) मा कम्पनीले लगानी गरेको छ। यसमा कम्पनीको ३७ प्रतिशतभन्दा बढी लगानी रहेको छ। त्यस्तै, लिखु जलविद्युत आयोजना (२८.१ मेवा), मिडिल तमोर हाइड्रोपावर प्रोजेक्ट (७३ मेवा), माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना (१४.३ मेवा) लगायत ठूलो खोला जलविद्युत आयोजना (२१.३ मेवा )मा कम्पनीको लगानी रहेको छ।
हाल कम्पनीले हाइड्रोपावर क्षेत्रमा बढी लगानी गरेको छ। बिस्तारै कम्पनीले अन्य क्षेत्र र राष्ट्रिय गौरवका योजनामा पनि लगानी गर्दै जाने योजना बनाएको छ।
उल्लेख्य रुपमा गैरआवासीय नेपालीहरूको यो कम्पनीमा लगानी रहेको छ। कम्पनीलगायत सम्पूर्ण लगानीकर्ताको प्रवर्धनका लागि निश्चित उद्देश्यसाथ योजनाबद्घ ढंगले अगाडि बढ्ने योजना रहेको उनले सुनाइन्।
भावी योजना
नेपालमा हाइड्रोपावरको प्रचुर सम्भावना रहेको छ। भविष्यमा अन्य लगानीका क्षेत्र पनि पहिचान गरी लगानी अगाडि बढाउँदै जाने उनको सोच छ। कम्पनीलाई निरन्तर सफलतातर्फ अग्रसर बनाउँदै कम्पनीमा लगानी गर्नुहुने सम्पूर्ण लगानीकर्तालाई राम्रो मुनाफा दिँदै अगाडि बढ्ने उनको योजना छ।
हाल उनी हाइड्रोपावरकै विषयमा पिएचडी पनि गरिरहेकी छन्। सामाजिक आर्थिक र नीतिगत क्षेत्रमा महिला सहभागितालाई सुनिश्चित गर्न सकेमा महिलाको जीवनस्तर माथि उठ्ने उनको भनाइ छ।





























प्रतिक्रिया