काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा अहिले पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको छ।
स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिनभर नै देशका धेरैजसो ठाउँको मौसममा उतार चढाव आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशमा अलि धेरै पानी परिरहेको छ। अन्य प्रदेशमा भने बादल लागिरहेको र केहीबेरमै पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सरिरहेको छ। पश्चिम र मध्य भागमा आज बेलुकादेखि मौसम सुधार हुँदै जाने तर पूर्वी क्षेत्रको मौसम भने आज सुधार हुने सम्भावना कम रहेको मौसमविद्हरुको अनुमान छ।
देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीको पनि सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।































प्रतिक्रिया