एनसेलले लैनचौरमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्दै

एनसेलले लैनचौरमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्दै

केन्द्रबिन्दु
0
Shares

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ। यस आयोजना अन्तर्गत निर्माण हुने खेल मैदानसहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने उदेश्य लिएको छ।

यो हरित उद्यान काठमाडौं महानगरपालिका वडा नं. २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ। उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थान लगायतका विशेषताहरु रहने छन्। यो उद्यान ५४ हजार ९२१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्ने छ।

एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ। समझदारी अनुसार, एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरिरेहको छ। 

ग्राउण्ड क्लेरेन्सको कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको छ। परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसहरुका लागि पार्किङ, शौचालय सुविधा र सोलार बत्तिको व्यवस्था यस उद्यानका केही थप विशेषताहरु हुन्। 

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस सामाजिक पहलका बारेमा उत्साह व्यक्त गर्दै भने, “सामाजिक आर्थिक विकासमा योगदान पुर्याउँदै तथा वातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै हामीले हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं। यो पहलले समुदायमा स्वस्थ वातावरण निर्माण गर्दै वातावरण र पर्यावरण सम्बन्धी लक्ष्यप्राप्तिमा योगदान पुर्याउने छ । सरकारसँग सहकार्य गर्दै काठमाडौंको मुटुमा उदाहरणीय हरित उद्यान निर्माणका लागि योगदान पुर्याउन पाएकोमा हामी खुसी छौं।”

“यस सहकार्यका लागि हामी एनसेलप्रति आभारी छौं । यस योजनाको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने कुनै पनि सहयोग चाहिएमा हामी प्रदान गर्नेछौं । यो हाम्रो समुदाय र वडाको एउटा ठूलो सम्पती हुनेछ र साथै यसले स्वस्थ हराभरा सहर निर्माणमा योगदान दिनेछ,” काठमाडौं महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ख्याम तिवारीले भने । 

एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गतका शिक्षा र स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) लाई प्राथमिकतामा राख्दै सामाजिक कार्यहरु गर्दै आएकोे छ । औद्योगिक व्यवसाय नियमावली २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ । 

एनसेलले विभिन्न सामाजिक पहल अन्तर्गत आफ्नो स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जिविकोपार्जनमा सहयोग लगायतका विभिन्न क्षेत्रमा रु १.२७ अर्ब भन्दा बढिको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासको लागि सहयोग पुर्याएको छ। स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र एनसेलको प्राथमिकतामा रहेको छ।  

वातावरण क्षेत्र अन्तर्गत, एनसेलले वन तथा भु–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने काम पनि गर्दै आएको छ। झण्डै १०.२ किलोमिटर दुरी रहेको यस सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य लिएको छ। 

यस अघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा वृक्षारोपण गरेको थियो र यसका साथै धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको थियो। यस पहलको सफल कार्यान्वयनपछि सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुल्ला चरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’ पनि घोषणा गरिसकेको छ।

Logo