पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने योजनामा एनआरएन डेभलपमेन्ट फन्ड

पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने योजनामा एनआरएन डेभलपमेन्ट फन्ड

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले १० अर्ब रूपैयाँ पुँजी भएको एनआरएन डेभलपमेन्ट फन्डको रकमको प्रतिफल बैंकमा पैसा राखी ब्याजबाट नभई पूर्वाधारमा लगानी गरेरै दिने बताएका छन्। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको साप्ताहिक अर्थ संवादमा अध्यक्ष पन्तले बैंकबाट ब्याज खाएर नभई पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने कोषको योजना रहेको बताएका हुन्।

पूर्वाधार तथा उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पुँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फन्डको स्थापना भएको छ। एनआरएन नेपाल डेभलमेन्ट फन्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी हुनेछ।

गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै कोषको प्राथमिक शेयर (आईपीओ) निष्काशन गरिने योजना छ । जसअनुसार ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) ल्याउनेछ । संघले १० अर्ब रुपैयाँ नेपालका कृषि, पर्यटन र पूर्वाधारसँग सम्बन्धित परियोजना भित्र्याउने तयारी गरेको हो । जसका लागि नेपाल सरकारले ५ प्रतिशत, १५ प्रतिशत संस्थापक र बाँकी ८० प्रतिशत पुँजी साधारण शेयर जारी गरि संकलन गरिने संघका अध्यक्ष कुमार पन्तले बताए।

आईपीओ सार्क मुलुक बाहेकका गैरआवसीय नेपालीले मात्रै खरिद गर्न पाउने छन्। यो एनआरएनहरुको लगानी हो, अहिलेसम्म हामीसँग १ सय ७० वटा परियोजनाका प्रस्ताव आएको छ, अबको ५/७ सातामै परियोजना सुरु हुन्छ, उनले भने, 'संकलित लगानीलाई बैंकमा राखेर ब्याज लिएर आम्दानी गर्ने हैन, पूर्वाधारमा सदुपयोग हुन्छ। संघले पारम्भिक अवधिमा १० अर्ब रुपैयाँ लगानी नेपाल भित्र्याएर लगानी गर्ने र १ वर्षभित्रै लगानीलाई १ खर्ब पुर्याउने लक्ष्य राखेको छ।'

परियोजनामा १० लाख गैरआवासीय नेपालीको लगानी रहने बताइएको छ । १० लाख एनआरएनबाट संकलित १० अर्ब रुपैयाँ कृषि, पर्यटन र पुर्वाधारकै क्षेत्रमा  लगानी गरिनेछ।

०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी बमोजिम गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने भएको हो। कोषमा केही वर्षमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँ भन्दा बढी पुर्याउने संघको योजना छ।

नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानीसहित गैरआवासीय नेपाली प्रबर्धक रहेको कम्पनीमा साढे २ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानी प्राप्त भइसकेको छ । पन्तले भने, “संस्थापक एनआरएनहरुले २ अर्ब ५१ करोड रुपैयाँ नेपाल पठाइसकेका छन्।

Logo