गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव संसदमा ‘टेबुल’

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव संसदमा ‘टेबुल’

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव प्रदेश संसदमा ‘टेबुल’ भएको छ।

सोमबारदेखि सञ्चालन भएको प्रदेश संसद्को विशेष अधिवेशनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव संसदमा ‘टेबुल’ गराएका हुन्।

प्रस्ताव टेबुल भएपछि बोल्दै नेपालीले गुरुङ नेतृत्वको प्रदेश सरकारले तीन वर्षमा विकास नगरेको र प्रदेश सरकार प्रतिगमनको मतियार बनेको टिप्पणी गरे।

उनले तत्कालीन नेकपा सर्वोच्चको फागुन २३ गतेको फैसलापछि छुट्टाछुट्टै दलको हैसियतमा रहेपछि स्वतः गुरुङ नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि विश्वासको मत लिन नचाहेको भन्दै आलोचना गरे।

एमाले सांसद रोशन गाहा मगरले भने प्रदेश सरकारको बचाउ गरेका छन्। उनले जनताको समृद्धि गर्न नचाहनेले सत्ता लोलुपका कारण मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको आरोप लगाए।

बैठकमा माओवादी केन्द्रका सांसद दीपक कोइरालाले सत्ताका लागि मात्रै अविश्वासको प्रस्ताव नल्याइएको दावी गरे। उनले मुख्यमन्त्री गुरुङले प्रदेश संसद्को हिउँदे अधिवेशन हठात् अन्त्य गरेर सात दिन भएपनि सरकारको आयू लम्ब्याएको भन्दै कटाक्ष गरे। 

एमाले सांसद धनञ्जय दवाडीले चार दलको मोर्चा धेरै नटिक्ने जिकिर गरे। अविश्वासको प्रस्ताव कांग्रेससहित नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ल्याएका हुन्।

यसअघि वैशाख २ गते उक्त अविश्वासको प्रस्ताव प्रदेश संसद् सचिवालयमा दर्ता भएको थियो। आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने थाहा पाएपछि मुख्यमन्त्री गुरुङले संसद्को हिउँदे अधिवेशन वैशाख १ गते मध्यरातमा अन्त्य गरेका थिए।

संसद्को अधिवेशन अन्त्य भएपनि संसद् सचिवालयमा दर्ता गर्न सकिने र त्यसपछि प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाउन सक्ने प्रावधान रहेअनुसार प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका हुन्।

प्रदेश सचिव हरिराज पोखरले मंगलबार पनि अविश्वासको प्रस्तावमाथि सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको बताएका छन्। बुधबार भने मतदान हुने पनि उनले बताए। 

Skip This
Skip This
Logo