कोरोना संक्रमणको दोस्रो लहर अझ आक्रामक एवं तीव्र संक्रामकका रूपमा देखिन थालेपछि कांग्रेस र माओवादी केन्द्रले रोकथाम, नियन्त्रण र उपचारमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
देउवाले परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड–१९ को संक्रमणलाई रोक्ने हरसम्भव उपाय गर्न सरकारसँग माग गरेका छन् । ‘परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड– १९ को संक्रमणलाई रोक्ने हरसम्भव उपाय गर्न म सरकारसँग माग गर्दछु । साथै, संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरूको उपलब्धता र स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकार गम्भीर हुन माग गर्दछु,’ देउवाको विज्ञप्तिमा छ ।
देउवाले कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय भएको बताउँदै यसतर्फ सरकार समयमै गम्भीर नहुनाले खोपको समुचित व्यवस्थापन हुन नसकेको टिप्पणी गरेका छन् । ‘मित्रराष्ट्र भारतबाट सुरुमै १० लाख डोज निःशुल्क खोप प्राप्त भएको कारण ठूलो राहत महसुस भएको थियो । पछि चीनबाट पनि खोप निःशुल्क प्राप्त भई वितरण हुँदै छ, देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न हामीलाई अझै ठूलो संख्यामा खोप आवश्यक छ । चाँडोभन्दा चाँडो आवश्यक खोपको व्यवस्था मिलाउनेतर्फ ठोस योजनासहित कूटनीतिक सक्रियता बढाउन पनि सरकारसँग माग गर्दछु,’ देउवाको विज्ञप्तिमा छ ।
यता प्रचण्डले कोरोनाको दोस्रो लहरको महामारी फैलिएको घटनाले सिंगो देश आक्रान्त भएको भन्दै सरकारलाई शिलान्यास र उद्घाटनमा समय नबिताउन आग्रह गरेका छन् । ‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ,’ प्रचण्डको विज्ञप्तिमा छ, ‘म सरकारसँग जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु । महामारीको सबैभन्दा बढी मार श्रमजीवी जनसमुदायलाई पर्ने भएकाले उनीहरूका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग पनि अपिल गर्दछु ।’नयाँ पत्रिकाबाट





























प्रतिक्रिया