निषेधाज्ञापछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो

निषेधाज्ञापछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले उपत्यकासहित १६ जिल्लामा निषेधाज्ञा जारी गरेपछि यसको प्रत्यक्ष असर बजारमा देखिन थालेको छ। निषेधाज्ञा सुरु भएसँगै  बजारमा दाल, चामल, तरकारी, फलफूल, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ। 

निषेधाज्ञाको मौका छोपेर व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेकाले सर्वसाधारण मारमा परेका छन्। 

निषेधाज्ञा अघिसम्म प्रति केजी ४० रुपैयाँ रहेको गोलभेडा अहिले ३० रुपैयाँले बढेर प्रति केजी ७० रुपैयाँ पुगेको छ। अन्य तरकारी तथा फलफूलको मूल्य २०–३० रुपैयाँले बढेको उपभोक्ताको गुनासो छ।

दाल र चामलको मूल्यमा पनि प्रति बोरा ५० रुपैयाँले बढेको छ। त्यस्तै, केही दिन अघिसम्म प्रति लिटर २ सय १० रुपैयाँ पर्ने तोरीकोे तेलको मूल्यमा २५ रुपैयाँ भन्दा बढीले बढेको छ। सूर्यमुखी तेलको मूल्य बढेर २ सय ५५ रुपैयाँ तथा भटमास तेलको मूल्य २ सय ४५ रुपैयाँ पुगेको छ।

व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी  मूल्य वृद्धि गर्ने गरेको राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जानकारी दिए। ‘जब–जब संकट पर्छ, तब–तब त्यसको फाइदा उठाउँदै व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्ने गरेका छन्। सरकारले अनुगमन चुस्त बनाउनुपर्छ,’ उनले भने। 

उनका अनुसार उपभोक्ताले ग्यासका सिलिन्डर, दाल, चामल, खाने तेललगायतको स्टक बढाउदा बजारमा कृत्रिम अभाव भएको हो। उपभोक्ताले संकटको अवस्थामा  संयमता नअपनाउँदा कृत्रिम अभाव सृजना गरी  व्यवसायीले मूल्य बढाएको  उनको धारणा छ। 

कालिमाटी बजारमा तरकारीको  मूल्य नबढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनायक श्रेष्ठको दाबी छ। ‘भित्री पसलहरूले भाउ बढाएका होलान्। तर, कालिमाटी बजारमा तरकारीको भाउ बढेको छैन,’ उनले भने। 

निषेधाज्ञा सुरु भएसँगै  बजारमा दाल, चामल, तरकारी, फलफूल, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ। 
 
सरकारको तयारी के छ ?

निषेधाज्ञाका बेला बजारमा समस्या आउनसक्ने भन्दै सरकार तयारीसाथ बसेको  वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ। विभागका प्रवक्ता शिवराज सेढाईका अनुसार विभागले उपभोक्तालाई संयमित हुन तथा व्यवसायीलाई पनि कृत्रिम अभाव सिर्जना नगर्न अनुरोध गरेको छ।

कानुन उल्लंघन गरी कृत्रिम अभाव सिर्जना गर्ने तथा मूल्यवृद्धि गर्नेमाथि कानुनी कारबाही गरिने प्रवक्ता सेढाईको भनाइ छ। ‘निषेधाज्ञाको अवधिमा पनि अनुगमन निरन्तर चलिरहेको छ। आज मात्रै  मास्क कालोबजारी गर्ने व्यवसायीलाई कारबाही गरिएको छ,’उनले भने ।

विभागले ६ वटा टोली अनुगमनका लागि खटाएको छ । तत्काल रेस्पोन्सका लागि अर्काे टोलीलाई पनि विभागले तयारी अवस्थामा राखेको छ। साथै विभागले हटलाइन नम्बर ११३७ (पैसा नलाग्ने) मा पनि सम्पर्क गर्न सकिने जनाएको छ । 

सहुलियत पसल सञ्चालन 

सरकारले निषेधाज्ञाको अवधिमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहजै उपलब्ध गराउन उपत्यकाका चार स्थानमा  बिक्री केन्द सञ्चालन गरेको छ।

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाको अवधिमा हुनसक्ने कालोबजारी रोक्न र खाद्य बस्तुको अभाव हुन नदिन सेवा सुरु गरेकोे कम्पनीले जनाएको छ ।  

कम्पनीले थापाथली, नक्खु, रामशाहपथ र सूर्यविनायकमा बिक्री कक्ष राखेर सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तुलगायत खाद्यान्न बिक्री गर्ने तयारी गरेको छ।

सूर्यविनायक र रामशाहपथको बिक्री केन्द्रबाट बिहान ७ देखि ११ बजेसम्म तथा नक्खुमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खाद्यान्न बिक्री गरिने कम्पनीले जनाएको छ। सामान निःशुल्क होम डेलिभरी गर्नुका साथै कम्पनीले नेपाल फुड तथा सस्तो डिलमार्फत् अनलाइन अर्डर गर्ने व्यवस्थासमेत मिलाएको छ।

Skip This
Skip This
Logo